–रीता ताम्राकार
जब विगतमा सुनेका कुरा भोग्ने दिनहरू मेरो सामुन्ने आइपुग्यो । वर्षाैंदेखि मनमा जरा गाडेर बसेको विश्वास धरमराउन थाल्यो । धमिराले जरा खोक्रो पारेको रुख जस्तै । मेरो श्रीमानले सामाजिक प्रतिष्ठासँगै करोडौंको सम्पति आफ्नै बुतामा कमाउनु भएको थियो । उहाँको मृत्युपश्चात् छुट्टिदाँ दुई छोराहरू र मेरो भागमा पचासौं लाखको सम्पत्ति परेको छ । छोरीहरूलाई पनि मन नदुख्ने गरी दिएका छौं । म जीवनको उत्तरार्धमा पुगेकी महिला । पश्चिम क्षितिजमा अस्ताउन लागेको घाम जस्तै । एक्लै बसेर छोरा बुहारीलाई समाजमा नराम्रो बनाउन मनले मानेन । एकजनासँग त बस्नै पर्यो नि ! तर, कत्रो आपत् मलाई ! छोराहरू मेरो मायाले भन्दा पनि मेरो भागमा परेको सम्पत्तिको जोड, घटाउ, गुणा, भागा गर्दै मलाई पाल्न हानाथाप गर्दैछन् । “म जेठो छोरो ! म कसरी आमालाई छोड्न सक्छु । उहाँलाई आफूसँग राखिन भने बुवाको आत्माले पनि मलाई धिक्कार्छ । त्यसैले आमा मसँगै बस्नु हुन्छ ?” सधैँ तुवाँलोले छोपिएर बस्ने जेठी पनि घामको किरण सापटी मागेर मुहारमा पोत्दै लोग्नेको कुरामा सही थाप्दैछ ।
कान्छो पनि मनमा शब्दजाल बुन्दै होला । एक्कासी कान्छाको मुहारको तुवाँलो चिरिएर एक झिल्को घामले चिहाए जस्तो झिलिक्क उज्यालो नाँच्यो । “होइन दाइ ! आमा त मसँग नै बस्नुहुन्छ । मेरोमा जति सुविस्ता आमालाई तपाइँसँग बस्दा हुँदैन । भाउजू दिनभरी सामाजिक सघं संस्थामा कुद्नु हुन्छ । यिनि घरमै बसेर घर व्यवहार गर्दछिन् ।” कान्छाले शाब्दिक पासा थाप्यो ।
“भाउजु कुदे पनि घर व्यवहारको व्यवस्था मिलाएर कुद्छे । त्यसै अलपत्र पारेर कुद्दिन बुझिस् !” जेठो रिसायो । जेठीले देवरलाई आँखातरी ।
“जे भन्नुस् ! दिनभरि घरमा बसेर सिहारे जस्तो कहाँ हुन्छ र ?” कान्छो अड्डि कस्छ आफ्नो कुरामा ।
मेरा छोराबुहारी मुहारभरी लालच पोतेर एक अर्कामा दोषारोण गरिरहन्छन् । बिना निष्कर्ष । मैले एउटा निर्णय गर्नैपर्ने भयो अन्ततः ।
“तिमीहरू चुप लाग एकछिन् । बुवाको मृत्युपछि पनि सबैजना संगोलमा नै रहे मलाई शान्ति हुन्थ्यो । तर, त्यसो हुन सकेन छुट्टियौं । चित्त बुझाउनै पर्यो । मेरो निम्ति दुवै बराबर । कसैको मन दुखाउन चाहन्न । म छ/छ महिना गरि दुवैकोमा बस्छु ।” मेरो निर्णयले खुशी त भएनन् । तर पनि चित्त बुझाए । आमाको सम्पत्ति आधा/आधा भाग लाग्ने जो भयो ।
म पहिला जेठोसँग बसेँ । मंसिरदेखि चैतसम्म । छोराबुहारीले राम्रो गरे पनि मन दुःखी रह्यो । जुन घर संसारमा मैले वर्षौं रानी बनेर एकछत्र राज गरेकी थिएँ । अहिले कुबेलाको पाहुना जस्तै पाएँ आफूलाई । के गर्नु ? संसारको रित ! उदाउँदो बेलाको सूर्यलाई देवता भनेर पुजे जस्तो नहुँदो रहेछ अस्ताउँदो बेलाको सूर्य ।
म वैशाखदेखि कान्छासँग बस्न थालेँ कार्तिकसम्म । यसबिच थुप्रै चाँडहरू, तिज, दशैं, तिहार आदि परे । सबै सकेर फेरि जेठाकोमा गएँ । वल्लो घरको नरे पल्लो घरमा सरे उखानको चरितार्थ भएको छ । आज मैले बाँच्ने जीवनमा ।
“दिदी ! तपाईँहरूलाई कति आनन्द । हामीसँग आमा बस्दा सबै चाँडपर्व पर्छ । पाहुनापात, ईष्टमित्र, आफन्त सबै ओइरिने त्यही बेला । झन् आमाजू र भान्जाभान्जीको लामो बसाई त कुरा गरी साध्य छैन । कहाँ सक्नु हामीले मात्र । जिउनी त बराबर चिरेर लिनु हुन्छ नि पछि । म त सक्दिन यसरी ।”
मैले नसुन्दा हुने । दुर्भाग्यले सुने कान्छीको गुनासो । जेठी केही बोलिन् । सायद, कान्छीको कुरामा वास्तविकताको आभाष पाएर होला । भित्र कतै कुनै कुनामा केहीले घोँचे जस्तो चिमोटे जस्तो ! बिना धुँवा घुर्मैलो मन । पिरो भएर दुखि रह्यो ।
त्यो रात मलाई मिन्द्रा परेन राम्रोसँग । हामीले पनि सासु ससुरा बाँचुन्जेल पालेका । तर, कहिले दिक्क मानेनौं । अहिलेका पुस्ता के भएका ? कर्तव्य र दायित्व त बुझ्न र सम्झनै नचाहने । किन कसैमाथि बोझ बन्नु ? अब एकजनासँग एक वर्ष नै बस्नुपर्ला । मनमा फेरि आफू पालिनुको निर्णय लिएँ एक पटक ।
“दुई वर्ष भयो छ/छ महिना बाँडिएर बसेकी । सबै चाँडपर्व कान्छाकोमा बस्दा नै पर्ने । उसलाई अलि गाह्रो भो लगातार व्यवहार धान्न । अब एक एक वर्ष बस्छु । यसो गरेमा व्यवहारको भार दुबै जनालाई पर्छ ।” एकदिन सबैलाई राखेर घोषणा गरेँ ।
मेरो यो अभिव्यक्तिले कान्छी पारिलो घाम जस्तै उजेली भई भने, जेठी तुवाँलो लागे जस्तै अँध्यारो । छोराहरू मुहारमा केही नझल्काई निर्विकार रहे ।
मलाई समयसँगै विविध रोगहरूले च्याप्दै ल्यायो । डाक्टर र उपचार बढी नै चाहिँदै आयो । उसो त छोरा बुहारीले कुनै दिग्दारी नदेखाई उपचार गराई रहेका थिए । मेरो मनको दोष हो की छोराहरूको मुखको दोष । थाहा पाउन सकिन । एकदिन मलाई निक्कै बिसन्चो भयो । म ढल्किरहेको ठाउँमा दुवै छोराको उपस्थिति थियो । म उनीहरूतिर पिँठ्यू फर्काएर सुतेकी थिएँ । कान्छाले दुई/तीन पटक बोलायो । म बोलिँन । उनीहरूले म निदाएको सम्झे होलान् ।
“भाइ ! आमा निदाउनु भएछ । आइज बाहिर । तँसँग एउटा जरुरी कुरा गर्नुछ ।” बरण्डा मेरै कोठाबाट निस्कनु पर्ने नजिकै छ । मैले निदाएकै बहानामा कुरा सुन्न चाहेँ ।
“हेर कान्छा ! आमा हामीसँग एक÷एक वर्ष बस्नुहुन्छ । चाडपर्व र व्यवहारिक तालमेल त बराबरी भयो । तर, उहाँको वृद्धावस्था र उपचार ? अस्ति तेरोमा बस्दा त्यति बिरामी हुनु भएन । साधारण मात्रै हो ? त्यसैले तेरो खर्च पनि साधारण नै भयो । अहिले मेरोमा आउनु भएपछि कति धेरै बिरामी हुनु भएको छ । जात्रा भएको छ मेरो ! ठूलो रोग । महँगो उपचार । पोषिलो खान्की । पैसा त खोलासरी बगाउनु परेको छ । यस्तो हुँदा त ठहरै भइन्छ नि !” जेठोको कुराले मन घरघरी च्यातिएको छ सिउनै गाह्रो हुने गरी ।
“अनि के भन्न खोज्नु भएको दाई । पूरै खुलस्त कुरा गर्नु न ।” कान्छाको शुष्क स्वर ठोकियो कानमा ।
“आफूले पाउनेभन्दा बढी खर्च गर्नुपर्यो भने त के अर्थ रह्यो र झन्झट व्यहोरेको ? अब १५/२० हजारभन्दा माथिको उपचार गर्नुप¥यो भने बराबरी भाग लगाउने । आखिर आमाको शेखापछि सम्पत्ति पनि त बराबर खाने हो नी ।”
राम......राम.........!! मैले के सुन्नु परेको यस्तो ? आमाभन्दा सम्पति ठूलो भएको छ आज मेरो छोराहरूलाई । एक दाना अन्न, एक गोली औषधी र एकसरो कपडाको हिसाब लाउँछन् उनीहरू । आफ्नो कमाईमा होइन् । बाबुले छोडेको सम्पत्तिमा पाल्न पनि ! यो मेरो कत्रो गाईजात्रा । उनीहरूले चुसेर फितलो भएको छाती चसक्क नमिठोसँग चस्कन्छ ।
मैले छोराहरूको बामे सराई, ताते हिँडाई र तोतेबोलीमा वात्सल्यले सरोवर भई सजाएको सपनाहरू सबै भ्रम रहेछन् । उनीहरूको फराकिलो छाती र दरिलो काँधमा गरेको भरोसा मित्थ्या रहेछन् । उनीहरूको सुकुमार मुहारमा मलाई निःश्वार्थ मायाले निहार्ने आँखा खोजेको धिक्कार रहेछ ।
यदि मेरो लाखौंको सम्पत्ति नहुँदो हो त मलाई आमा भनेर चिन्दैन्थे होला । कुनै काम नलाग्ने रद्धि वस्तु नै पो ठान्थे कि कतै ? कि मलाई पनि ती अन्तरे बाजेलाई जस्तै मागेर खान छोडि दिन्थे ? जिउ नै सिरिङ्ग हुन्छ । बुरुरु काँडा उम्रन्छ पाखुराभरी । नानाभाँतिको कल्पनाले गर्दा मन नमिठोसँग निमोठियो । व्यथित मनस्थितिमाथि पर्दा लगाउन र बेदनाले व्याप्त मुहारमा खुशी पोत्न कहिले जानिन मैले । हृदय धरधरी रुवाएर ओँठले मुस्कुराउने क्षमता मैंले पटक्कै राख्न सकेकी छैन ।
खुईया..! व्याकुलताले भरिएको व्यथित सुस्केरा मेरो ओँठको बाटो भएर हिँड्यो । असमय नै क्षीण हुन लागेको मेरो आशा र अपेक्षामाथि भंगालो बनि आँशु बग्न थाल्यो । जसलाई मरुभूमिको रूप लिएर सिरानी आफ्नो छातिभित्र समेट्दैछ । मन धमिलो हुँदा त निलो आकाशमा मद्होष फैलिएका चन्द्र किरण पनि फिक्का लाग्दो रहेछ ।
छोराहरू आफु खुशी फैसला गरेर एकातिर लागे । म आफैंभित्र एउटा मार्मिक कथा बनिसकेकी ! निरीह जीवन भोग्न बाध्य एक लाचार वृद्धा । सम्झन बाध्य भएँ । ती दुई गरीब वृद्धाहरूलाई । जसको केही सम्पत्ति छैन र छोरा पनि छैनन् र पनि सन्तोष पूर्ण जीवन बिताइरहेका छन् ।
वृद्धावस्थामा सुख र सन्तोषपूर्ण बाँच्नुमा सम्पत्तिको भन्दा सन्तानमा निहित दायित्वबोध र कर्तव्यबोधको ठूलो भूमिका हुँदोरहेछ । के गर्नु आफ्नो त कर्मै खोटो रहेछ । पुनः मेरो सुस्केरा रोक्दा रोक्दै फुत्कन्छ ओँठबाट !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies