तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाली श्रमिक कल्याणकारी संघ कतारले आयोजना गरेको ‘श्रमिक पुरुष भलिबल प्रतियोगिता कार्यक्रम २०२४’को उपाधि युथ क्लबले चुमेको छ । कूल ९ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको फाइनलमा मिलीजुली एकता समाजलाई सोझो २ सेटमा हराउँदै युथले उपाधि चुमेको हो ।
शुक्रवार मुन्तजामा रहेको पेरलीङ् सिजन इन्टरनेशनल स्कुलको भलिबल कोर्टमा सम्पन्न प्रतियोगितामा मिलीजुली एकता परिवार, पर्वत स्पोर्ट, महेन्द्र मिलन, लालिगुराँस (ए), गुल्मी, न्यु स्टार, एसवाईसी टिम, लाली गुराँस (बी) र आयोजक टिमले प्रतिस्पर्धा गरेका थिए । विजेता तथा उपविजेताले नगदसहित सम्मान पत्र र मेडल प्राप्त गरेका छन् ।
प्रतियोगिताको उद्घाटन नेपाली दूतावास कतारका द्वितीय सचिव कृष्ण कुमार सुवेदीले गरेका थिए । उनले निकै महत्वपूर्ण कार्यक्रममा जुट्न पाउँदा खुसी लागेको बताए । नामैमा श्रमिक कल्याणकारी रहेको र हामी श्रम गरिरहेका श्रमिकको कल्याणमा समर्पित कार्यक्रम रहेको बताउँदै खेलबाट श्रमिकलाई एकै ठाउँमा भेला पारेर श्रमिककै लागि सकारात्मक काम गरेको भन्दै प्रशंसा गरेका थिए । उनले नेपाली दूतावासले पनि यस्तै सृजनशील कार्यक्रममा सहकार्य गर्न चाहेको र श्रमिकका पक्षमा हातेमालो गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए ।
प्रतियोगितामा निःशुल्क स्वास्थ्य परीक्षणका साथै प्राथमिक उपचार तथा सचेतनामूलक विशेष कार्यक्रम सम्पन्न गरिएको थियो । तीन सयभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेको प्रतियोगिता संघका अध्यक्ष नारायण खपांगी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेबर मिनिष्ट्रिका सलिम एल मोहन्दी, बिड्ब्लु आईका मार्को पोलोको उपस्थितिसहित भलिबलका बारेमा प्रेरणात्मक सुझावसहितको मन्तव्य राखेका थिए ।
एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, मोना कतारका प्रमुख सल्लाहकार नरेन्द्र फगामी, सञ्चारकर्मीहरूको विशिष्ट आतिथ्यता रहेको थियो भने कतारको श्रम कानूनसम्बन्धी जानकारीमूलक साथै आफ्ना हक अधिकारका बारेमा उल्लेख गरी तयार पारिएको ‘आफ्ना अधिकार जानौं’ नामक पकेट पुस्तक वितरण गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies