क्वालालम्पुर : मलेसियाका व्यापारिक समूहहरुले आगामी मार्च १ बाट शुरु हुने अवैधानिक अवस्थामा रहेका आप्रवासी कामदार स्वदेश फिर्ता कार्यक्रमलाई ध्यानमा राख्दै विदेशी कामदारको नयाँ भर्नामा रहेको प्रतिबन्ध हटाउन माग गरेका छन् ।
मलेसियाली मुस्लिम रेस्टुरेन्ट ओनर्स एशोसिएसनका अध्यक्ष जवाहर अली तैब खानले अवैधानिक कामदारको घर फिर्ताको कार्यक्रमले वर्षौंदेखि मलेसियामा काम गरिरहेका जनशक्तिको अभाव हुने भएकाले सरकारले नयाँ विदेशी कामदार ल्याउने प्रक्रियालाई पनि सहज बनाउनुपर्ने माग गरे ।
मलेसियाको एसएमई एशोसिएसनका अध्यक्ष डिङ हङ सिङले कागजविहीन कामदारहरुलाई स्वदेश फर्काउने कामले धेरै रोजगारदाताहरुले अनुभवी कामदारको अभावको सामना गर्न सक्ने बताए । त्यसबाट प्लान्टेशन र उत्पादन क्षेत्रका एसएमई (साना र मझौला उद्यमहरु) प्रभावित हुन सक्ने उनले बताए । उनले सरकारले स्वदेश फर्काउन लागेका अवैधानिक अवस्थामा रहेका विदेशी कामदारहरुलाई अध्यागमन शिविरमा थुन्नु उचित नभएको पनि बताए ।
क्वालालम्पुर र सेलान्गोर इन्डियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष निवास रागावनले उद्योगको आवश्यकताका आधारमा विदेशी कामदारको आपूर्तिका लागि अनुमति दिनुपर्ने बताए । मलेसियाली उत्पादक संघका अध्यक्ष सोह थियान लाइले सरकारले मार्च १ देखि अवैधानिक अवस्थामा रहेका विदेशी कामदार फर्काउनुअघि नयाँ कामदार भर्नाको सुनिश्चितता गर्नुपर्ने माग गरे ।
विज्ञहरुले भने गैरकानूनीरुपमा विदेशी कामदार आउनुको मुख्य कारण आउटसोर्सिङ नीति जिम्मेवार रहेकोे भन्दै आउटसोर्सिङ प्रणालीमा पुनर्विचार गर्नुपर्नेमा जोड दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies