काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानमा सीपयुक्त कामदार पठाउने कार्यविधि सार्वजनिक गरेको छ । श्रम, रोजगार सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जापानसँग सन् २०१९ को मार्चमा भएको मेमोरेण्डम अफ कोअपरेशन अन्तर्गत गत माघ २५ गते स्वीकृत गरेको कार्यविधि मन्त्रालयले आइतबार सार्वजनिक गरेको हो ।
सार्वजनिक कार्यविधिअनुसार स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यू) प्रणालीअन्तर्गत नेपाली म्यानपावर कम्पनीहरुले रोजगारदाताहरुबाट सेवा शुल्क लिएर निःशुल्करुपमा कामदार पठाउनुपर्ने छ । नेपाली कामदारको भर्ना, जापानी भाषा परीक्षा तथा सीप परीक्षणका लागि जापानी पक्षलाई सहजीकरण गर्न वैदेशिक रोजगार विभागअन्तर्गत एउटा छुट्टै इकाइ रहने व्यवस्था छ ।
कार्यविधिअनुसार एसएसडब्ल्यू प्रणालीअन्तर्गतको मापदण्ड पूरा गरेका म्यानपावर कम्पनीहरुले कामदार पठाउन पाउनेछन् । यस्तै भाषा र सीपका लागि प्रचलित मापदण्डबमोजिम आफ्नो स्वामित्वको तालिम केन्द्र वा पूर्णकालीनरुपमा उपयोग गर्न सकिने गरी करार सम्झौता गरिएको तालिम केन्द्र हुनुपर्ने प्रावधान छ । तालिम केन्द्रमा जापानी भाषा पढाउन सक्ने तालिम तथा प्रमाणपत्र प्राप्त कम्तीमा दुई जना भाषा प्रशिक्षक, नेपाली कामदारको माग प्रमाणीकरण र अन्य कल्याणकारी कार्य गर्न जापानमा दर्ता शाखा कार्यालय वा यससम्बन्धी काम गर्न अनुमतिपत्र पाएको रजिष्टर्ड सपोर्ट अर्गनाइजेसनसँग नेपाली कामदारसँग कुनै शुल्क नलिने सम्झौता गरेको हुनुपर्ने प्रावधान कार्यविधिमा राखिएको छ ।
भाषा तथा सीप प्रदान गर्न जापानी रोजगारदाताले नेपालमै आएर तालिम लिने वा जापानी भाषा वा विशिष्टिकृत सीप तालिम केन्द्र पूर्णकालीनरुपमा प्रयोग गर्ने सम्झौता गरेको हुनुपर्ने प्रवधान पनि कार्यविधिमा छ ।
एसएसडब्ल्यू प्रणाली अन्तर्गत जापान जान चाहने नेपाली कामदारले मान्यता प्राप्त संस्थाबाट भाषा परीक्षा र सीप परीक्षा अनिवार्यरुपमा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । मागपत्र प्रमाणित भएर आएपछि म्यानपावर कम्पनीले कमतीमा १५ दिनको समय राखेर माग भइ आएको मागपत्रमा रोजगारीको पद, माग संख्या, पेशागत क्षेत्र, स्वास्थ्य तथा सुरक्षाको जोखिम, तलब भत्ता आदि उल्लेख गरी विज्ञापन प्रकाशित गर्नुपर्ने र प्रक्रिया पूरा गरी छनोट भएका कामदारको मोबाइलमा नतिजा पठाउनुपर्ने व्यवस्था पनि कार्यविधिमा छ ।
जापानले नेपालबाट कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ सेवा, सवारीसाधन मर्मत र सम्भार, निर्माण उद्योगसहित १४ विभिन्न क्षेत्रमा श्रमिक लैजाने बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies