काठमाडौं : आगामी शनिबार यूएईमा हुने रोजगार मेला ‘जव फेयर’ २०२४ को सम्पूर्ण तयारी पूरा भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । जव फेयरमा नेपालका ५ दर्जन बढी वैदेशिक रोजगार व्यवसायीले भाग लिन स्टल बुक गरेका छन् ।
यूएईमा कामदार पठाउनेसहित मलेसिया र युरोपेली मुलुकमा शून्य लागतमा कामदार पठाउने वैदेशिक रोजगार व्यवसायीहरुले स्टल बुकिङ गरेका छन् । उनीहरुले आ–आफ्ना स्टलमार्फत यूएईमा पठाउन सक्ने श्रम जनशक्तिको बारेमा यूएईका रोजगारदातालाई जानकारी गराउनेछन् ।
संघले पावर प्वाइन्ट प्रिजेन्टेसनमार्फत नेपालको समग्र विषयमा जानकारी गराउने तयारी गरेको मूल आयोजक समितिका सदस्य सचिवको जिम्मेवारीमा रहेका संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए । बुधबारसम्म व्यवसायीका ६३ स्टल बनेको र ती स्टलमा म्यानपावर कम्पनीका सञ्चालक र कर्मचारीसहित सय जनाभन्दा बढीको सहभागिता हुने जव फेयरका संयोजक, संघका प्रथम उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय कोअर्डिनेटर डिक बहादुर खत्रीले जानकारी दिए ।
यूएईस्थित नेपाली दूतावासको सहकार्य रहेको जव फेयरमा यूएईस्थित रोजगारदाताहरु, सबै स्टेटका चेम्बर, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, बिजनेस कम्युनिटी, एचआर एशोसिएसन र आधिकारिक नेपाली चेम्बरहरुसहित सयभन्दा बढी स्थानीय रोजगारदाताहरुले अवलोकन गर्ने तय भएको पनि संयोजक खत्रीले बताए ।
कार्यक्रममा नेपालाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सचिव केवल प्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती, यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री र बोर्डका निर्देशक टिकाराम ढकाल सहभागी हुने छन् । यस्तै कार्यक्रममा यूएईका मानव संशाधन तथा इमिराइटेशन मन्त्री अब्दुलमानन अल अवारले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यूएईमा नेपालीका लागि धेरै क्षेत्रमा रोजगारीको सम्भावना भएपनि बिचौलियाहरुका कारणले समस्या रहेकोे र त्यसको निराकरणका लागि रोजगारदाताहरुसँग नेपाली म्यानपावर व्यवसायीहरुको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न जव फेयर आयोजना गरिएको संघले बताएको छ ।
मेला मूल आयोजक समितिका संयोजक खत्री तथा संघको यूएई संयोजक नारायण भुसाललगायत व्यवसायी तयारीका लागि एक हप्ता अगाडिदेखि यूएई पुगेर तयारी गरिरहेका छन् भने संघका अध्यक्ष राजेन्द्र भण्डारी तथा महासचिव भुर्तेलसहितको टोली बुधबार राति प्रस्थान गरेकोे छ । अन्य व्यवसायी बिहीबार र शुक्रबार जाँदैछन् ।
नेपालले नेपाली कामदारका लागि नयाँ क्षेत्र खोजी गर्न यूएईमा १७ वर्षअघि २००७ को जुन ६ तारिकमा जव फेयर आयोजना गरेको थियोे । उक्त जव फेयरका कारणले नेपालमा कामदारहरु अदक्ष मात्र उपलब्ध छन् भन्ने यूएईका रोजगारदाताहरुको सोचाइ नै परिवर्तन भएको थियोे भने सोही जव फेयरमा दिएको प्रिजेन्टेसनका कारण डा. गणेश गुरुङ वैदेशिक रोजगार विज्ञका रुपमा स्थापित भएको अनुभव धेरै व्यवसायीको छ ।
परम्परागत निर्माण कामदार, सुरक्षागार्ड, सर्भिस तथा हस्पिटालिटीसहित यस पटक आईटी क्षेत्रमा नेपालमा रहेकोे जनशक्ति र श्रम बजारमा प्रत्येक वर्ष प्रवेश गर्ने सक्रिय जनशक्तिबारे जानकारी गराउने तयारी रहेको पनि संयोजक खत्रीले बताए ।
यूएई नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुकका रुपमा रहेको छ । यूएई र नेपाल सरकारबीच यसअघि भएको सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था छ । सम्झौतामा कामदारले कुनै पनि शुल्क भुक्तानी गर्नु नपर्ने भएपनि रोजगारदाताको कमीकमजोरीका कारण कतिपय अवस्थामा कामदारहरु शुल्क तिरेर जाने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies