काठमाडौं : काठमाडौं इन्टरनेशनल इन्कर्पारेट प्रा.लि.ले इजरायलको ब्लु शिर्ट इन्टरप्राइजेज कम्पनीका लागि २ सय जना कृषि कामदारको माग ल्याएपछि वैदेशिक रोजगार क्षेत्रमा हलचल पैदा भएको छ । त्यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानसँग सन् २०१९ को मार्चमा भएको मेमोरेण्डम अफ कोअपरेशन अन्तर्गत निश्चित सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० सार्वजनिक गरेको थियो ।
उक्त कार्यविधि सार्वजनिक भएपछि खुसी भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले लामो समयदेखिको माग पूरा भएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसहित मन्त्रालयका सचिवसहित उच्च अधिकारीहरुप्रति आभार नै व्यक्त ग¥यो । तर समग्र वैदेशिक रोजगारका क्षेत्रमा जापानको रोजगारीभन्दा सरकारी स्तरमा मात्र कामदार पठाउन पाउने इजरायलमा निजी क्षेत्रले पनि कामदार पठाउन पाउने विषयमा चासो बढाएको छ । सँगसँगै काठमाडौं इन्टरनेशनल इन्कर्पोरेट प्रा.लि.ले इजरायलको ब्लु शिर्ट इन्टरप्राइजेज कम्पनीका लागि ल्याएको २ सय पुरुष कृषि कामदारको मागपछि भिसा कति छिटो आउँछ भन्ने विषयमा पनि आम व्यवसायीको नजर टिकेको छ ।
कतिपयले नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण भएपनि भिसा पाइहाल्न नसक्ने टिप्पणी गरेका छन् । कतिपयले डिमाण्ड आएपछि भिसा पनि आउनेमा शंका नरहेको बताएका छन् । समाचार स्रोतका अनुसार नेपाली म्यानपावर कम्पनीले पेस गर्ने भिसासम्बन्धी आवेदनमा भिसा प्रदान गर्ने इजरायली सरकारी निकायले मार्च १ तारिकमा निर्णय गर्ने अवस्था रहेको बताइएको छ ।
२ वर्षे करार अवधिका लागि नेपालबाट जाने कृषि कामदारले मासिक न्यूनतम २ लाख ८ सय ९० रूपैयाँ तलब पाउनेछन् । नेपालमा हुने प्रि मेडिकल, म्यादी जीवन बीमालगायतका खर्च कामदार आफैंले व्यहोर्नुपर्ने प्रावधान छ । युद्धका कारण कृषि क्षेत्रमा कार्यरत विदेशी कामदार स्वदेश फिर्ता भएपछि इजरायल सरकारले निजी क्षेत्रलाई ९० दिनभित्र विदेशी कामदार ल्याउन सहुलियत दिएपछि नेपालमा पनि म्यानपावर कम्पनीहरूले सरकारले खुला गरेका विश्वका अन्य मुलुकमा जस्तै इजरायलमा पनि कामदार पठाउन पाउनुपर्ने माग जोडतोडले उठाएका थिए ।
काठमाडौं इन्टरनेशनल इन्कर्पोरेट प्रा.लि.ले इजरायलको ब्लु शिर्ट इन्टरप्राइजेज कम्पनीका लागि ल्याएको डिमाण्डमा जाने कामदारको भिसा प्रक्रिया सहज भएमा व्यवसायीहरू डिमाण्ड खोज्न आक्रामक शैलीमा लाग्ने मनस्थितिमा देखिएका छन् ।
गाजा क्षेत्रमा इजरायल–हमासबीच लडाइँ चलिरहेको बेला पनि ठूलो संख्यामा भारतीयहरूले इजरायलमा रोजगारीका लागि आवेदन गरेका छन् । अघिल्लो वर्ष इजरायल र भारतका बीच भएको सम्झौताअनुसार ४२ हजार भारतीय इजरायलको निर्माण र नर्सिंङ क्षेत्रमा गएका थिए । व्यवसायीहरुले नेपालीका लागि पनि इजरायलमा दशौं हजार कामदारको माग रहेको बताएका छन् । खासगरी इजरायलस्थित नेपाली नियोगले छिटो छरितो सहजकर्ताको भूमिका खेल्न सके नेपालका लागि राम्रो अवसर हुनसक्ने जानकारहरु बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies