दिलमाया शाही/मध्यान्ह
जुम्ला : प्रथम कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि जुम्लाले जितेको छ । जुम्लामा गत फागुन १६ गतेदेखि भएको प्रदेशस्तरीय फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको फाइनल खेलमा हुम्लालाई ४-० गोल अन्तरले पराजित गर्दै जुम्ला विजयी भएको हो ।
हुम्ला र जुम्लाबीचको फाइनल खेल निर्माणाधीन रंगशालामा भएको थयो । जुम्लाका रुविन भण्डारीले ३ गोल गर्दै ह्याट्रिक गरे । त्यस्तै महेन्द्र शाहीले पेनाल्टीबाट गोल गरेका थिए । हुम्लाले भने खेल अवधिभर गोल फर्काउन सकेन । उपाधि जितेको जुम्लाले कप, मेडल तथा प्रमाण पत्र पाएको छ । जुम्लाका खेलाडीले घरेलु मैदानमा उपाधि जित्दा खुसी व्यक्त गरेका छन् ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाई, देवेन्द्र बहादुर शाही, प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले प्रमाणपत्र, मेडल र टफ्री हस्तान्तरण गरे ।
प्रतियोगितामा जुम्ला, मुगु, हुम्ला, कालीकोट, सुर्खेत र जाजरकोट गरी ६ जिल्लाको सहभागिता रहेको थियो । जसमा जाजरकोट र मुगु नकाउटचरणबाट बाहिरिएका थिए भने सुर्खेत र कालीकोट सेमिफाइनलबाट बाहिरिएका थिए ।
आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशको टिम छनोटका गर्न प्रतियोगिता आयोजना गरिएको फुटबल संघका अध्यक्ष भरत बहादुर बुढथापाले बताए । उनका अनुसार दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म सुर्खेतमा हुने भनिएको छ । यो प्रतियोगिताबाट सहभागी ६ वटै जिल्लाबाट उत्कृष्ट खेलाडी विभिन्न सूचकका आधारमा छनोट गरिने जिल्ला फुटबल संघ जुम्लाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies