मदनकुमार श्रेष्ठ, रेशम पौडेल/मध्यान्ह
दुबई, यूएई : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मर्यादित र स्वच्छ प्रक्रियाको पुुनः परिभाषित गरेर वैदेशिक रोजगारलाई सम्मानित बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार बोर्डको सहकार्यमा यूएईमा आयोजना गरेको रोजगार मेला ‘जव फेयर २०२४’को उद्घाटन गर्दै मन्त्री भण्डारीले उक्त भनाइ राखेका हुन् ।
मन्त्री भण्डारीले यूएईले हासिल गरेकोे विश्वस्तरको उपलब्धिमा नेपाली कामदारको उच्च योगदान रहेकोे भन्दै नेपाली कामदारको सम्मान र सुविधा वृद्धि गरिनुपर्ने बताए । विज्ञान र प्रविधिको प्रयोगले अवसर र चुनौती दुवै सिर्जना गरेकाले चुनौतीको सामना गर्न बजारको मागअनुसार श्रमिकको सीप क्षमताको विकासमा नेपालले लगानी गर्न चाहेको बताए ।
उनले भने, ‘हामी कामदारको अधिकार, सुरक्षा र सम्मानको विषयमा पारदर्शी क्लिन एण्ड क्लियर होस् भन्ने चाहन्छौं ।’ मन्त्री भण्डारीले सुरक्षाको वातावरण र द्विपक्षीय सम्झौता भए हाल पुरुष कामदार पठाइएको घरेलु काममा महिला पनि पठाउन नेपाल तयार रहेकोे प्रष्ट पारे ।
रोजगार मेलामा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती, यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, यूएईका श्रम डिभिजन प्रमुख अहमेद अल यासी, इन्टरनेशनल रिलेसन स्पेसियालिष्ट अब्दुल लाजिज अल शामसीले नेपाली कामदारको सीप, उनीहरुले निर्वाह गर्ने जिम्मेवारीको भूमिकाका बारेमा आ–आफ्ना धारणा राखे ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले रोजगारदाताहरुसँग नेपाली म्यानपावर व्यवसायीहरुको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न जव फेयर आयोजना गरिएको बताए । कार्यक्रममा संघका कार्यसमिति सदस्य नारायण भुषालले पावर प्वाइन्ट प्रिजेन्टेशनमार्फत नेपालको समग्र श्रम जनशक्तिको विषयमा जानकारी गराए ।
रोजगार मेलामा ६४ म्यानपावर कम्पनी र कर्मचारीसहित १ सय १० जनाभन्दा बढीको सहभागिता रहेकोे थियोे । जव फेयरका संयोजक, संघका प्रथम उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय कोअर्डिनेटर डिक बहादुर खत्रीले जव फेयरमा नेपालका नयाँ तथा पुराना व्यवसायी उत्तिकै उत्साहका साथ सहभागी भएको बताए ।
मन्त्री भण्डारीले जव फेयरमा रहेका सम्पूर्ण स्टल अवलोकन गरी उत्साहित भइ काम गर्न र नयाँ अवसरको खोजी गर्न आग्रह गरे ।
अग्रज व्यवसायी दि रिभर ओभरसिज प्रा.लि.का सञ्चालक रघुनाथ पुरीले नेपालीका लागि धेरै क्षेत्रमा रोजगारीको सम्भावना भएपनि बिचौलियाहरुका कारण समस्या रहेको अवस्थामा त्यसको निराकरणका लागि जव फेयरले सहयोग गर्ने बताउँदै नेपालबाट एक–एक वर्षको अन्तरालमा जव फेयर गर्नु उचित हुने बताए ।
कञ्चन ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक किरणकिशोर घिमिरेले दीर्घकालीनरुपमा नेपाली कामदारको हित हुने भएकाले जव फेयरको महत्व रहेकोे बताए ।
जव फेयरमा यूएईस्थित रोजगारदाताहरु, सबै स्टेटका चेम्बरहरु, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, बिजनेस कम्युनिटी, एचआर एशोसिएसन र आधिकारिक नेपाली चेम्बरहरुसहित स्थानीय रोजगारदाताहरुलाई अवलोकनका लागि आमन्त्रण गरिएको थियोे । तर राजदूत क्षेत्रीले समय चापले अपेक्षित तयारी पूरा हुन नसकेका कारण अपेक्षित संख्यामा रोजगारदाता सहभागी नभएको बताए ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नेपालले १७ वर्षअघि २००७ को जुन ६ तारिकमा यूएईमै जव फेयर आयोजना गरेको थियोे । नेपाली दूतावास यूएईमा कार्यरत काउन्सिलर श्रम दीनबन्धु सुवेदीले यूएईको रोजगारीमा प्रविधिको प्रयोगका कारण धेरै परिवर्तन भएकाले जव फेयर छोटो समयमा हुनुपर्ने बताए ।
उनले नेपालले १७ वर्षको अन्तरालमा जव फेयर गरेपनि फिलिपिन्सजस्ता कामदार पठाउने मुलुकले छिटोछिटो जव फेयर गरेर रोजगारदाताहरुलाई आफ्नोे देशमा रहेका जनशक्तिको बारेमा जानकारी गराउने गरेका कारण उक्त मुलुकले लाभ उठाएको बताए । नेपालबाट पररम्परागत निर्माण कामदार, सुरक्षागार्ड, सर्भिस तथा हस्पिटालिटी क्षेत्रमा गरी ५ लाख बढीले काम गरिरहेको पनि काउन्सिलर श्रम सुवेदीले जानकारी दिए ।
यूएई नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुकका रुपमा रहेको छ । यूएई र नेपाल सरकारबीच यसअघि भएको सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था छ । सम्झौतामा कामदारले कुनै पनि शुल्क भुक्तानी गर्नु नपर्ने भनिएपनि रोजगारदाताको कमीकमजोरीका कारण कतिपय अवस्थामा कामदार शुल्क तिरेर जाने गरेका छन् ।
जव फेयरमा यूएईमा कामदार पठाउने म्यानपावर कम्पनीसहित मलेसिया र युरोपेली मुलुकमा शून्य लागतमा कामदार पठाउने वैदेशिक रोजगार व्यवसायीहरुले पनि स्टल बुकिङ गरेका थिए । आयोजक संघको बारम्बार आग्रहका बाबजुत स्टल बुकिङ नगरेका केही व्यवसायीले भने बाहिर–बाहिर कार्ड बाँड्ने र खानाका लागि प्लेट थाप्न अरु भन्दा अगाडी सर्ने गरेको पनि देखिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies