काठमाडौं : डिफेन्डिङ च्याम्पियन एमेच्योर सदभाव आचार्यलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पूर्वनम्बर एक गल्फर रवि खड्काले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् ।
उनले सात वर्षपछि करियरको पहिलो उपाधि जितेका हुन् । सन् २०१७ को अप्रिलमा सूर्य नेपाल एनपीजीए म्याच प्ले जितेपछि यो उनको पहिलो उपाधि हो । उनको यो सूर्य नेपाल टुरको १२औं उपाधि हो । उपाधिसहित उनले नगद एक लाख प्राप्त गरे ।
लगातार दुई दिनका लिडर सदभाव आचार्यले अन्तिम दिन बिहीबार ६–ओभर ७४ को खराब प्रदर्शन गर्दा उपाधि रक्षा गर्ने मौका गुमाए । समग्रमा १–अन्डर २ सय ७१ को स्कोरमा उनले चित्त बुझाए । उनले एमेच्योरतर्फ उपाधि जिते । एमेच्योरतर्फ समग्रमा ७–ओभर २ सय ७९ को स्कोर मा टासी छिरिङ दोस्रो भए । उनले बिहीबार ३–ओभर ७१ मा खेल सकाए ।
समग्रमा १–ओभर २ सय ७३ सहित प्रोतर्फ दिनेश प्रजापति, दीपक मगर र धन बहादुर थापाले संयुक्तरुपमा दोस्रो स्थान बाँडे । दिनेशले बिहीबार ४–अन्डर ६४ को उत्कृष्ट स्कोर बनाउँदा दीपकले १–ओभर ६९ र धनले ३–ओभर ७१ को स्कोर खडा गरे । उनीहरूले समान ५१ हजार ६ सय ६५ रूपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
पहिलो दिनका लिडर रामे मगरले बिहीबार इभन–पार ६८ खेलेर समग्रमा ४–ओभर २ सय ७६ सहित पाँचौं स्थानमा खेल सकाउँदै ३६ हजार नगद पुरस्कार हात पारे । समग्रमा ५–ओभर २ सय ७७ को नतिजामा भुवन नगरकोटी, सञ्जय लामा, भुवन कुमार रोक्का र जयराम श्रेष्ठले संयुक्तरुपमा छैटौं स्थान बाँडे । दाबेदार भुवनले बिहीबार ८–ओभर ७६ को बिर्सनलायक प्रदर्शन गर्दा तेस्रो स्थानबाट तल झर्दै छैटौं स्थानमा खेल सकाउन बाध्य भए ।
यस्तै ३–ओभर ७१ स्कोर गर्दा भुवन कुमार रोक्का र जयरामले इभन–पार ६८ मा खेल पूरा गरे । उनीहरूले २७ हजार ८ सय ७५ नगद आफ्नो नाममा लेखाए । समग्रमा १२–ओभर २ सय ८४ को नतिजामा रमेश अधिकारी दशौं भए र २१ हजार प्राप्त ग्रे।उनले बिहीबार ६–ओभर २ सय ७४ को स्कोर बनाए ।
अन्तिम १८ होलको खेल सुरू हुँदा रवि सदभाव भन्दा ३ स्ट्रोकले पछि थिए । सदभावले लय गुमाउँदा रविले सुदबुझपूर्ण प्रदर्शन गरे । रविले पहिलो, दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरे । तेस्रो र सातौं होलमा एक–एक सट खेर फाले । फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । यता ३ स्ट्रोकको अग्रतामा दिनको शुरुवात गरेका सदभावले पहिलो होलमा बर्डी प्रहार गरे पनि तेस्रो होलको डबल बोगी र आठौं होलको बोगीले फ्रन्ट नाइन २–ओभर ३६ मा सकाए । नौ होलको समाप्तीमा रविले सदभावलाई एक स्ट्रोकले पछि पारे ।
खेलको टर्निङ प्वाइन्ट दशौं होल बन्यो । सदभावले टी सट जंगलमा प्रहार गरे । दोस्रो सट ओबी खेल्दा यो होलमा ट्रीपल बोगीको सामना गर्न बाध्य भए । यता रविले यही होलमा इगल प्रहार गर्दा दशौं होलको समाप्तीमा रविले सदभाव विरूद्ध ६ स्ट्रोकको अग्रता बनाए । यसपछि रविले १७औं होलमा एक सट खेर फाले भने १८औं होलको बर्डीले ब्याक नाइन २–अन्डर ३२ मा नै पूरा गरे ।
सदभावले दशौं होलको ट्रीपल बोगी लगतै १२औं होलमा डबल बोगी र १५औं होलमा बोगीको सामना गरे । १३औं र १४औं होलमा एक–एक सट बचाए र ब्याक नाइन ४–ओभर ३८ मा सकाए । दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३२ मा सकाए । उनले पहिलो, चौथौं, आठौं, १०औं र १५औं होलमा बर्डी प्रहार गर्दा सातौं होलमा एक सट खेर फाले ।
दीपकले पहिलो र सातौं होलमा एक–एक सट बचाउँदा पाँचौ र नवौं होलको बोगीले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए । यसपछि १३औं होलको बर्डी विरूद्ध १५औं र १७औं होलको बोगीले ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे ।
धनले फ्रन्ट नाइन २–ओभर ३६ र ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे । यो क्रममा उनले पहिलो, ११औं, १३औं र १५औं होलमा बर्डी प्रहार गरेपनि तेस्रो, आठौं र नवौं होलमा बोगी खेप्दा १०औं र १८औं होलमा डबल बोगीको सामना गरे ।
७२ होलको चार दिने प्रतियोगिताको कूल ५ लाख ७२ हजार २ सय ५० नगद पुरस्कार राशि रहेको थियो । प्रतियोगितामा कूल ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीप्रा लहरी, पिजीए नेपालका सल्लाहकार घनश्याम थापा, आरएनजीसीका अध्यक्ष मधुकर याकथुम्बा, क्याप्टेन मिथुन राई र कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies