–ओम बस्नेत
“नेपाली है ?”, पुलिसले सोध्छ आसाम यातायातको सिलगडीदेखि गुवाहाटी जाने सरकारी बसमा यात्रा गर्दै गरेको जंगेलाई ।
“जिउ हो”, भन्छ जंगे ।
पुलिसले भन्छ, “बाहार आओ अपना बेग लेके ।”
बेग चेपेर बसबाट बाहिर निस्किन्छ जंगे । बिहानको तीन बजेको छ । नेपाली पैसेन्जर छ की छैन भनेर चेक गर्छ श्रीरामपुर गेटमा आसाम पुलिसले । जंगे त्यो आसामिस पुलिसको पछि–पछि जान्छ । बस स्टार्टमैं थियो । पुलिस चौकीमा ओसी साहेबले फेरी प्रश्नको खोइरो उत्तार्छ ।
ओसी, “कहाँ जा रहा है ?”
जंगे, “गुवाहाटी ।”
ओसी, “नेपाली है ?”
जंगे, “जिउ हुनु त नेपाली नै हाये तर, सिक्किमबाट पो आउँता है ।”
ओसी, “पास है, आईएलपी है ?”
जंगे छक्कै पर्यो र डराउँदै भए पनि पुलिससलाई सोध्यो, “सिक्किम भी इन्डिया हे अन्त आपका आसाम चै इण्डिया नही हे ?”
ओसी “तुम्हारे पास क्या पेपर है ? कुछ है तो दिखाओ न” जंगेले झोलाबाट सिक्किम सब्जेक्ट झिकेर देखाऊँछ । बिजुली मधुरो छ थानाको । टोर्च लाइट लगाएर हेर्छ ओसीले सिक्किम सब्जेक्ट ।
“तुम्हारा नाम क्या है ?” ओसीले सोध्छ ।
“जंग बहादुर बस्नेत, पिताजीका नाम श्री खडानन्द बस्नेत ।”
“ये क्या है भाई इसमे तुम्हारा फोटो कहाँ है ?”, अर्को प्रश्न ।
जंगे के भनौ भनौ हुन्छ ।
“साले झूठ मुठका पेपर दिखाता है अन्दर करो इसको” भनेर सिपाहीलाई अर्डर दिन्छ ।
बस कन्डक्टर आएर पुलिसलाई “क्या करें सर ये हमारा पैसेंजर है” भन्छ ।
“तुम लोग जाओ इसको वापस कर देंगें सिलीगुडी” भने पछि बस हिँडछ । एकछिपछि सिपाही आएर भन्छ “पैसा निकालो तब जाने देंगे हमारा साहब अच्छा है । तुम आसाम जा सकते हो लेकिन पैसा लगेगा” भन्छ । जंगेले पैसाको पोको जिम्मा लगाउछ । “क्या साला भिखारी जैसा आदमी इतना सारा सिक्का लेके घुमता है” भनेर उल्टै खिशी गर्दै पैसा लान्छ । एउटा पुलिसको भ्यानमा ड्राइवर एक्लै रहेछ त्यसमा हालेर “इसको आगे छोड देना” भन्यो सिपाहीले । जंगे त्यसमा चढ्छ । रिम रिम उज्यालोमा एउटा चियाको दोकान अघि रोक्यो र झर्ने इशारा गर्यो ड्राइभरले । ठाउँको नाम पाटगाउँ रहेछ । चोर गोजीमा तीन सौ चेपेकै थियो अब त्यो पैसाको भरमा नौलो ठाउँमा जीवन धान्नुछ जंगेले । चिया दोकानको फलेकमा बसेको थियो ।
एउटा ग्वाला आउँदै गरेको देख्छ । साइकलमा दुधको क्यान झुण्डयाएको छ साइडमा । हेर्दै चिन्यो जंगेले नेपाली अनुहार । नौलो ठाउँमा नेपाली ग्वाला देख्दा अलिकति खुशी लागेन । भगवान भेटे जस्तै भयो जंगेलाई । राम कहानी बतायो ।
एकदिन जंगे र उसको बाउको निक्कै चर्काचर्की परेको थियो र “म घर छोडछु” भनेर आफ्नै बाउलाई धम्की लगाएको थियो । घरको याद झलझली आउनु थाल्यो तर, फेरि बाउको खर्रो बोलीको याद आयो “तैंले जिन्दगीमा केही नाप्दैनस् बुजिस्, निकम्मा अल्छे” भनेका थिए । खडानन्द मण्डलले खजाना उठाको सिक्का पैसा राखेका थिए । पोकामा चार÷पाँच सौ थियो । त्यो लिएर हिँडेको हो जंगे । त्यो पनि पुलिसले लगिदियो ।
ग्वाला थापा रहेछन्, घर झारबारी भन्ने गाउँमा थियो । धेरै वर्षअघि पुगेका रहेछन् । जंगल फाडेर बाक्लो बस्ती बसेको रहेछ नेपाली र सन्थालीहरुको । एक रात थापाको कटेरोमा सरण लियो जंगेले । सिनिक्कै सफा पार्यो कटेरो । गोजी छाम्यो बिँडी मार्चिस सकेछ । बिँडीको तल तल लाग्यो । मार्चिस र बिँडीको खोजीमा धेरै परसम्म गयो पाएन । अझै गयो भेटेन दोकान । आठ नौ किलोमिटरको खोजाईपछि भेट्यो ।
जंगेले एक डेढ सौ रूपैयाँमा पेटी नै ल्यायो । उसलाई थाहा भयो त्यो ठाउँमा दोकानको कति खाँचो रहेछ भन्ने कुरा । त्यसकै व्यापार गर्न थाल्यो । मार्चिसले उसको बुद्धिको बत्ति सल्क्यो । केही दिनपछि उसको ठूलो पसल भयो । ग्वालाको छोरीसँग बिहे भयो । विस्तारै–विस्तारै जंगेले धेरै पैसा कमायो । जंगे मालिकको बसहरू, लोरीहरु सडकमा कुदनु थाल्यो ।
एउटा छोरा एमएलए भए । अर्को छोराले आसाम सिभिल सर्भिसेसको परीक्षा पास गरेर आसामको धेरै जिल्लाहरूमा डीएम भएर सेवा दिइरहेका छन् ।
श्रीरामपुर गेटमा इन्नर लाइन परमिट देखाउनु पर्छ जस्तो लागेन आजकल । तर, भोटर कार्ड र आधार कार्ड त हर कुरामा अनिवार्य नै हो ।
जंग बहादुर बस्नेतले अहिले गुवाहाटीमा ठूलो फार्म हाउस बनाएर आरामको जिन्दगी बिताइरहेका छन् । सिक्किम सब्जेक्ट राखेका छन् अरे ! कुन्नी किन हो । सिक्किमको निशानी भनेर पो हो की ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies