दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । नयाँ राजनीतिक समीकरण बनेको सन्दर्भमा उपनिर्वाचनले राजनीति थप गर्माएको छ । इलाम २ मा हुने उपनिर्वाचनका लागि चहलपहल सोही क्षेत्रका मतदातासामु हुनुपर्ने हो, भइराखेको पनि छ । तर नेताहरुको सार्वजनिक अभिव्यक्ति र दौडधुपले काठमाडौं तरंगित छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेले इलाम २ लाई प्रतिष्ठाको विषय बनाए काठमाडौंमै रणनीति बनाइरहेका छन् । सोही अनुरुप आकांक्षीहरूको दौडधुप काठमाडौंमै बढेको छ ।
एमालेले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने गरी तयारी थालेको छ । जिल्ला सचिवालयको बैठकले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरिसकेको छ । कार्यदलले आउँदो चैत ३ गतेसम्ममा उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्ने छ । उम्मेदवार हुन इच्छुकले यही फागुन २७ सम्ममा आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्नुपर्नेछ ।
एमाले केन्द्रीय समितिले जिल्लामा पठाएको अन्तर पार्टी निर्देशन (अपानि)मा उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्ने उल्लेख छ । उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिको मापदण्ड समेत एमालेले निर्धारण गरेको छ ।
एमालेबाट बुद्धिप्रसाद खनाल, रवीन्द्र सुवेदी, डा.देवी क्षेत्री दुलाल, दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङले आफूलाई बलियो उम्मेदवारका रूपमा उभ्याएका छन् । नेपाली कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का २०७९ मा व्यहोरेको हारलाई जितमा परिणत गर्ने अभियानमा छन् । जिल्लामा कांग्रेसको संगठनभित्र बलियो पकड बनाएका भेषराज आचार्य यस पटक जसरी पनि टिकट लिने र कांग्रेसलाई विजयी गराउने अभियानमा रहेको दाबी गरिरहेका छन् । पूर्वराज्यमन्त्री केशव थापा र पूर्वसांसद नगेन्द्र कुमाल पनि कांग्रेसबाट टिकटको दौडमा छन् ।
वैकल्पिक दलका नेताहरु पनि चुनावी अभियानमा जुटिसकेका छन् । पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार बन्ने तयारीमा छन् । माओवादी केन्द्र परित्याग गरेका पत्रकार मिलन लिम्बु पनि उम्मेदवार बन्ने दौडमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आन्तरिक रूपमा उम्मेदवार खोजिरहेको छ । नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय उन्मुक्ति पार्टी (नाउपा) लगायतका दलहरु पनि आफ्नो उम्मेदवार उठाउने तयारीमा छन् ।
एक्ला एक्लै चुनाव लड्ने प्रस्ताव
रास्वपाले उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने प्रस्ताव राखेको छ । इलाम २ मा हुने उपनिर्वाचनमा सबै दलले एक्ला एक्लै चुनाव लड्नुपर्ने प्रस्ताव रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले राखेका हुन् । ‘हामी सदनमा सहकार्य गरौं भन्न चाहन्छौं । निर्वाचनमा प्रतिस्पर्धा गरौं भन्न चाहन्छौं’ यही फागुन २४ गते बसेको प्रतिनिधि सभाको बैठकमा भने ।
नेपालको संसदीय अभ्यासमा सदनमा सधैँ प्रतिस्पर्धा गर्ने तर, निर्वाचनमा गएर सहकार्य गर्ने गरिएको उल्लेख गर्दै उनले यो अभ्यास छोड्नुपर्ने बताएका हुन् । ‘निर्वाचनको सहकार्यले लोकतन्त्रलाई पनि कमजोर बनाइदिएको छ’ उनी भन्छन्, ‘इलाममा निर्वाचन हुँदै छ । त्यहाँ हामी प्रतिस्पर्धा गरौं । सहकार्य नगरौं ।’ इलामको चुनावमा रास्वपाले एक्लै चुनाव लड्ने पनि उनले बताए ।
यता, जिल्ला निर्वाचन कार्यालय इलामले पनि उपनिर्वाचनको तयारीलाई तिब्रता दिएको छ । निर्वाचन कार्यालयले मतदाता नामावली रुजु गर्ने, निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन गर्ने, मतदान स्थल र मतदान केन्द्रको अवस्था बुझ्नेजस्ता कामहरू सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार उपनिर्वाचनका लागिफागुन २४ देखि ३० गतेसम्म राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरिनेछ । त्यस्तै चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन मुख्य निर्वाचन अधिकृत नियुक्त गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जनाइएको छ ।
संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख समेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्बाङको गतभदौ २६ गते निधन भएको थियो । त्यसपछि रिक्त रहेको इलाम २ मा उपनिर्वाच हुन लागेको हो । गतवर्षको प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का विरुद्ध एक सय १४ मतको झिनो अन्तरमा नेम्बाङ निर्वाचित भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies