मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : तीन ठूला दलका बीचमा हुने सत्ता समीकरणको फेरबदलप्रति साना दलहरुले असन्तोष प्रकट गरेका छन् । ४ मंसिर २०७९ को चुनाव लगत्तै एमाले र माओवादी केन्द्रसहितको दश दलको समर्थनमा सरकार बनेको थियो । त्यसको दुई महिनामै माओवादी केन्द्रले एमालेको साथ छोडेर कांग्रेससँग गठबन्धन गर्यो । त्यसबेला आठ दलीय गठबन्धन बन्यो । फेरि गठबन्धन भत्किएर एमाले र माओवादी सहितको गठबन्धन बनेको छ ।
यसरी प्रमुख तीन दलले बारम्बार गठबन्धन बदल्दा साना दलहरु अलमलमा पर्ने गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित साना दलहरु एमाले–माओवादीको समीकरणमा लाग्ने कि प्रतिप्रक्षमा बसेर कांग्रेसलाई साथ दिने भन्नेमा प्रष्ट छैनन् । उनीहरु अस्थिर राजनीतिले आफूहरुलाई समेत अस्थिर बनाउन खोजेको टिप्पणी गर्छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले राप्रपालाई प्रदेश सरकारमा सहभागी हुन आग्रह गरेको थियो । तर राप्रपाले संघीय सरकारसँग समेत संवाद भइराखेको भन्दै सुदूरपश्चिम प्रदेशमा सहभागिता जनाएन् । १० पुस २०७९ को गठबन्धनमा एमालेसँगै प्रचण्ड नेतृत्वको सरकारमा सहभागी संघमा यसपटक प्रतिपक्षी बेन्चमा बसिरहेको छ ।
जनता समाजवादी पार्टीले सुरुमै एमाले र माओवादीको समीकरणमा हस्ताक्षर गरेको थियो । तर सरकारमा सहभागी हुने वा नहुने विषयमा उक्त पार्टीमा विवाद भएको थियो । प्रचण्ड जता जान्छन्, उतै जाने भनेर उक्त पार्टीमा नेताहरुले नेतृत्वको आलोचना गरेका थिए । तथापि, जसपा सरकारमा सहभागी भएको छ ।
सरकारको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा विवाद देखा परेको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा नाउपाका प्रदेशसभा सदस्यहरू सहभागी भएका थिए । शनिबार नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी आफ्नो पार्टीका प्रदेशसभा सदस्यहरूलाई फिर्ता हुन निर्देशन दिएकी छन् ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्री बर्खास्त गरेका मुख्यमन्त्री शाहले शुक्रबार राति मन्त्रिपरिषद विस्तार गरेका थिए । उनले मन्त्रिपरिषदमा नागरिक उन्मुक्तिका दुई मन्त्री र एक राज्यमन्त्री थपेका थिए । नाउपाबाट घनश्याम चौधरीलाई आर्थिक मामिला र खुसीराम चौधरी विनाविभागीय मन्त्री बनाइएको थियो । इन्दिरा गिरीलाई भने राज्यमन्त्री बनाइएको थियो । उनीहरूले शुक्रबार राति सपथ लिएका थिए ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले आफूसँग कुनै सरसल्लाह नै नगरी सरकारमा किन गएको भन्दै पार्टी अध्यक्ष चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीलाई सरकार छोड्न निर्देशन दिएकी हुन् । उनीहरूले तत्काल सरकार नछोडे पार्टीले कारबाही गर्ने अध्यक्ष श्रेष्ठले बताएकी छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी पनि अलमलमै रहेको छ । विगतमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी यी दुबै दल सत्ता समीकरण फेरिएपछि सरकारमा गएका छैनन् । उनीहरु यसपटक प्रचण्डले विश्वासको मत लिनेबेलासम्म पर्ख र हेरको अवस्थामा रहेका छन् ।
एकीकृत समाजवादीमा समेत सुरुमा सरकारमा जाने विषयमा विवाद भएको थियो । सत्ता सहकार्यमा रहेका दलहरुले समेत थाहै नपाउने गरी गटबन्धन फेरिने गरेको भन्दै एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले असन्तुष्टि जनाएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies