काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचलमा छापा मारेको छ । विभागमा कार्यरत नायब सुब्बा लेखापाल प्रमोद निरौलाले म्यानपावर कम्पनीको धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियार टोली मंगलबार बिहानै विभागको कार्यालय पुगेको थियो ।
धरौटी फिर्ताको निवेदन दिएका म्यानपावर कम्पनीका सञ्चालकबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा लेखापाल निरौला पक्राउ परेका हुन् । अख्तियारले लेखापाल निरौलाबाट स्रोत नखुलेको ७१ हजार ६ सय २० रुपैयाँ पनि बरामद गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
लेखापाल निरौला सानातिना मामिलामा पनि घुसका लागि जबरजस्ती गर्ने कर्मचारीका रूपमा बदनाम थिए । विभागमा अन्तिम श्रम स्वीकृति दिने अन्य केही कर्मचारीहरू पनि निरौलाको शैलीलाई उछिनेर घुसका लागि मरिहत्ते गर्ने गरेको भन्दै केही वैदेशिक रोजगार व्यवसायी अख्तियारले त्यस्ता कर्मचारीलाई पनि निगरानीमा राख्नुपर्ने बताउँछन् ।
घुससहित रंगेहात पक्राउ परेका सरकारी कर्मचारीविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ३ तथा दफा ९ बमोजिमको कसुरमा उक्त ऐनको दफा ८ को उपदफा ३ तथा दफा ९ बमोजिम सजाय हुन मागदाबी लिइ विशेष अदालतमा मुद्दा चलाउने गएको छ । आयोगले लेखापाल निरौलाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies