दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : गत फागु्न २१ गते गठबन्धन तोडेर नेकपा माओवादी केन्द्र अघि बढेपछि फागुन २४ गते प्रतिनिधि सभाको बैठक बसेको थियो । परिवर्तित राजनीतिक परिस्थितिबारे प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सचेत गराए, ‘एकचोटि सोच्नुस् त, भोलि तपाईंले धोका दिनुभएका सबै एक ठाउँमा उभिए भने तपाईं कहाँ पुग्नुहोला ?’
एमालेले पनि पटक–पटक धोका भएको भनेको र कांग्रेसले पनि धोका खाएको भन्दै उनले प्रचण्डलाई झस्काउने गरी बोलेका थिए । प्रधानमन्त्री बनेको एक वर्षमा तीन पटक गठबन्धन फेरेको र यसबीचमा संसदको ठूला दल कांग्रेस र एमालेले पालैपालो धोका भन्दै लेखकले कांग्रेस र एमाले मिले के होला भनी उनी गरेको प्रश्नलाई कतिपय नेताहरु वैकल्पिक सरकारको एक विकल्प रुपमा चित्रित गर्छन् ।
माओवादी केन्द्रले आफूसँगको गठबन्धन तोडेपछि कांग्रेस नेताहरु एमालेसँगै मिलेर सरकार बनाउने प्रयासमा छन् । एमालेसँग सम्भव नभए मुख्य कम्युनिस्ट पार्टीहरु बेगरकै वैकल्पिक सरकारको कसरतमा कांग्रेस नेताहरु छन् ।
प्रधानमन्त्री प्रचण्डले ३० फागुनमै विश्वासको मत लिइसकेका छन् । तर, आगामी जेठ १५ गते आउने बजेटमा कांग्रेसले वैकल्पिक सरकारको अभ्यास गर्न सक्छ । हाल सत्ता गठबन्धनमा सामेल रहेका कुनै दललाई बाहिर निकाल्न सकेको खण्डमा प्रचण्ड नेतृत्वले ल्याउने बजेट फेल गराउन सक्ने कांग्रेसको बुझाइ छ । बजेट फेल भए सरकार ढल्छ । एकीकृत समाजवादीले बजेटको वितरण समानुपातिक नभए आउँदो बजेट पास गर्न सहयोग नगर्ने सार्वजनिक रुपमै भनेको छ ।
यही चैत १ गते नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता पूरा नगरे पार्टी सरकारबाट बाहिरिने बताएका थिए ।
‘मैले प्रष्ट भनेको छु– तपाईंले बोलेको कुराहरु पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ । १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँभन्दा बढ्ता के भन्नु ? प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौँ ।’ उपाध्यक्ष पाण्डेले भनेका थिए ।
उपाध्यक्ष पाण्डेले बजेट वितरणको विषय सार्वजनिक रुपमा भनेता पनि नयाँ सत्ता समीकरणमा प्रधानमन्त्रीको आलोपालोमा माधव नेपाल समेतको सहभागिताको विषय चर्चामा छ । पुष्टी नभएता पनि शीर्ष नेताहरुबीच प्रचण्डपछि माधव नेपाल र त्यसपछि केपी शर्मा ओली प्रधानमन्त्री हुने गरी जानुपर्ने भनी छलफल भएको छ । यस्तो अवस्थामा एकीकृत समाजवादी रुष्ट भए वर्तमान सरकारको विकल्प खोज्न सहज हुने कांग्रेस नेताहरुको बुझाइ छ ।
एमालेसँग सत्ता समीकरण हुन नसकेको खण्डमा एमाले र माओवादी बाहेककै सरकार बनाउने विकल्पमा समेत कांग्रेस नेताहरुको कसरत छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन १३८ सदस्यको समर्थन आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसका ८९, एमालेका ७८, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४ सांसद छन् ।
जनता समाजवादी पार्टी (जसपा)का १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ४, नागरिक उन्मुक्ति पार्टीका ३, राष्ट्रिय जनमोर्चाका एक, नेपाल मजदुर किसान पार्टीका एक, आम जनता पार्टी (आजपा)का एक र अर्का एक जना स्वतन्त्र सांसद छन् ।
एमाले र माओवादी केन्द्र बाहेकको सरकार बन्ने अवस्थामा एकीकृत समाजवादीले कांग्रेसलाई सघाउँछ कि सघाउँदैन भन्ने प्रश्न यथावत छ । नसघाएको अवस्थामा विकल्प थप खुम्चिनेछ । तथापि, ठुला सबै कम्युनिस्ट पार्टी बेगरको सरकार बनाउन कांग्रेसका लागि विकल्प सकिँदैन् । रास्वपासहित साना सबैजसो दलको समर्थन अनिवार्य पाए कांग्रेस नेतृत्वमा एमाले र माओवादी बाहेकको सरकार बन्न सक्छ तर, त्यो सरकारको व्यवस्थापन कठिन हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies