तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतारमा सम्पन्न दोहा एक्स्पोमा रहेको नेपाल पेभिलियन सञ्चालनमा सहयोग गर्नेलाई कतारको दोहास्थित नेपाली दूतावासले सम्मान गरेको छ । कतारले अक्टोबर २ मा उद्घाटन गरेको ‘दोहा एक्स्पो २०२३’को बिहीबार औपचारिकरूपमा समापन गरिएको छ । एवान अन्तर्राष्ट्रिय हर्टिकल्चरल (बागवानी) अर्थात आधुनिक कृषिसम्बन्धी सञ्चालित एक्सोपोमा नेपालसहित ८० भन्दा बढी देशको सहभागिता रहको थियो भने नेपाल पेभिलियनसमेत रहेको थियो ।
एक्स्पोभित्र सञ्चालित पेभिलियनको समुद्घाटनसहित समापनसम्म साथ सहयोग गर्ने सम्पूर्णलाई नेपाली दूतावासले सम्मान गरेको हो । शुक्रबार दूतावासको सभा हलमा सम्पन्न कार्यक्रममार्फत उद्घाटन सत्र, नेपाल डेमा सांगीतिक प्रस्तुति दिने कलाकारहरू, कतारमा रहेका विभिन्न सहयोगी सामाजिक तथा सामुदायिक संस्थाहरू सम्मानित भएका छन् । त्यस्तै फोटोग्राफर, पत्रकारसहित आयोजक संस्थाका विभिन्न तह तप्काका पदाधिकारी, आयोजक कमिटी र आयोजक संस्थाहरू सम्मानित भएका हुन् ।
दूतावासका प्रथम सचिव तथा एक्स्पोको कमिशनर जनरल कृष्ण कुमार सुवेदीले सहजीकरण गरेको कार्यक्रमलाई समापन गर्दै कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालले ६ महिना लामो समयसम्म सञ्चालित एक्स्पो र पेभिलियनमा पुगेर हरदम साथ सहयोग गर्ने सम्पूर्णमा नेपाल सरकार र नेपाली दूतावासका तर्फबाट आभार प्रकट गरेका थिए ।
एक्स्पोमा नेपाली चिया, जडीबुटी हर्बल, अलैँची, अदुवा, नेपालमा बनेका कपडा, ब्याग, जुत्तालगायतका वस्तुहरू राखिएका थिए । नेपाल सरकार तथा कृषि मन्त्रालय, नेपाली दूतावास दोहा कतार, निर्यात व्यवसायी महासंघ नेपाल तथा नेपाल व्यवसायी संघ कतार प्रवद्र्धक रहेको कतार एक्स्पो २०२३ मा नेपालमा उत्पादित विभिन्न १२२ वस्तुहरू राखिएको थियो ।
कतारका लागी नेपाली पर्यटन प्रवर्द्धकलाई पत्र हस्तान्तरण
शुक्रबार दूतावासमा आयोजित एक कार्यक्रमका बीच बागलुङका राजेन्द्र कुमार शर्मालाई पर्यटन प्रवर्द्धक नियुक्त गरिएको पत्र हस्तान्तरण गरिएको छ । नेपाल सरकार मन्त्रीस्तरको फागुन १३ गते आइतबारको निर्णयानुसार कतार पर्यटन प्रवर्द्धक नियुक्त गरिएको पत्र राजदूत ढकालले हस्तान्तरण गरेका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies