सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : पूर्व पश्चिम महेन्द्र राजमार्गको गोरुसिङ्गे–सन्धिखर्क सडक मार्गको ४३ किलोमिटर दुरीमा रहेको अर्घाखाँचीको प्रसिद्ध मन्दिर सुपा देउरालीको दर्शन गर्न आउने श्रद्धालु भक्तजनको संख्यामा उल्लेखनीय वृद्धि भएको छ ।
शीतगंगा नगरपालिका २ र सन्धिखर्क नगरपालिका वडा नं. ७ को सिमानामा रहेको यस मन्दिरमा तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेसँगै अत्यन्तै चिसो ठाउँ सुपादेउरालीको दर्शन गर्न र नरपानीको चिसोमा रमाउने धार्मिक पर्यटकहरुको संख्यामा वृद्धि भएको हो । प्राकृतिक सौन्दर्यले भरिएको महाभारत पर्वत शृंखला अन्तर्गत पहाडको खोंचमा रहेको मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत हजारौँ भक्तजनहरू आउने र अहिले गर्मी सिजनमा सबैभन्दा धेरै भक्तालु पर्यटकहरु आउने गरेका छन् ।
सुपा देउरालिमा आफ्नो मनोकामना पूरा होस भन्दै बोका, पाठी तथा नरिवल, परेवा, जिन्सी सामानहरू सुन पितल चाँदी धातु मन्दिरमा चढाउने चलन रहेको स्थानीय समाजसेवी प्रकाश महत्रा बताउँछन् ।
सुपा देउराली मन्दिरले सनातन धर्म संस्कृतिको प्रवद्र्धनमा टेवा त पु¥याएको छ नै, सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान गरिरहेको छ । सन्धिखर्क नगरपालिका अन्तर्गतको आदर्श मा.वि. खाँचीकोट, शितगंगा नगरपालिकाको सीता आधारभूत विद्यालय, शान्ति आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालय सञ्चालनार्थ आर्थिक सहयोग प्रदान गरेको मन्दिर व्यवस्थापन समितिका पूर्व सचिव यादव घिमिरेले बताए । शिक्षा क्षेत्रमा मात्रै भेटीबाट संकलित रकमबाट मासिक १ लाख ६० हजार भन्दा धेरै सहयोग गर्दै आएको मन्दिर व्यवस्थापन समितिका पूर्व सचिव घिमिरेको भनाइ छ ।
सन्धिखर्कमा रहेको गौशाला र बेद विद्याश्रम, सिद्धेश्वर मन्दिर लगायतका मठमन्दिरलाई पनि आर्थिक सहयोग प्रदान गरिएको छ । मन्दिरको भेटीबाट गाउँमा विद्युतीकरण, शौचालय निर्माण, सडक निर्माण, भूकम्प तथा दुःखमा परेका समुदायमा सहयोग लगायतका सामाजिक कार्यमा वार्षिक लाखौँ रकम खर्च गर्ने गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सुबहादुर केसीले बताए ।
सुपा–देउराली मन्दिरमा वार्षिक एक करोड बराबर भेटी संकलन हुन्छ । मन्दिरमा पुजारी, कर्मचारी, पूजापाठमा चाहिने सामग्री र शिक्षकलाई तलव तथा विकास निर्माणका काममा खर्चेर बाँकी रहेको रकम बैंकमा बचत गर्ने गरिएको केसीले दावी गरे ।
मन्दिरको आम्दानीले आफ्नै गाउँमा विद्यालय सञ्चालन हुँदा खाँचीकोट र सीतापुरबासी खुसी भएको स्थानीयको बुझाइ छ । दर्शनार्थीले चढाएको भेटी पारदर्शी रूपमा संकलन गरी शिक्षा तथा समाज सेवाका साथै विकास निर्माणका काममा खर्च गरिनु उदाहरणीय काम भएको सरोकारवाला बताउँछन् ।
वि.सं. १६०० ताका खाँचीको राजकुलमा देवीले जन्म लिएकी थिइन् । १६१९ मा भारतको बलरामपुरको राजकुलमा उनको बिहे भयो । यो विवाह उनको मन्जुरी विनाको थियो । डोलीमा बोकेर भारततर्फ लैजाने क्रममा देवी स्वरूपा दुलहीले आत्महत्या गरिन् । हालको मन्दिर रहेको स्थानमा पुग्दा डोलीबाट रगत चुहेको देखियो । त्यसै क्षेत्रमा उनको दाहसंस्कार गरी सबै आ–आफ्नो घरतर्फ लागे । यो घटनापछि खाँची राजकुलमा ठूलो हलचल भयो । गाउँमा रोगव्याधी पनि फैलियो । धेरै धामी झाँक्रीहरू डाकेर सोधियो ।
एक जना खनाल थरका धामीले राजकुमारीको इच्छा विपरित विवाह गरिदिएकाले यस्तो घटना भएको बताउँदै रगत चुहेको स्थानमा कालो पाठी अर्पण गरेमा राजकुमारीको आत्माले शान्ति पाउने भनेपछि सोही अनुसार गरियो । त्यसपछि गाउँमा रोगव्याधी पनि हरायो । देवी शिलाको रूपमा प्रकट भइन् । त्यसपछि त्यहाँ देवीको पूजाद्वारा अर्चना गर्न शुरु गरियो । त्यसैले अहिले पनि सो मन्दिरमा खनाल थरका पुजारीले दैनिक पूजा सञ्चालन गर्दै आइरहेका छन् । २०४२ सालमा मन्दिर निमार्ण भएपनि परापूर्वकालदेखि पूजा–आजा गर्ने शक्तिपीठको रुपमा सुपा देउराली चर्चित रहेको छ । यहाँ भाकल गरेपछि मनोकांक्षा पूरा हुने र भाकल अनुसार पूजा गर्ने चलन छ ।
हाल रहेको मन्दिर नरनारायण बाबाको विशेष सक्रियता एवं भक्तजनको सहयोगमा २०६५ सालमा कलात्मक शैलीमा पुनर्निर्माण गरिएको छ । सरकारले घोषणा गरेका १ सय उत्कृष्ट गन्तव्य सूचीमा सुपा देउराली मन्दिर पनि समावेश रहेको छ ।
दर्शनार्थीको चहलपहलका कारण मन्दिर वरपर विभिन्न किसिमका व्यवसाय सञ्चालन भइरहेका छन् । फोटो स्टुडियो, पूजा सामग्री, मिष्ठान्न भण्डार तथा होटल जस्ता व्यवसायबाट दुईसय जना प्रत्यक्ष रोजगारीमा जोडिएका छन् भने १८ जना पुजारीको समेत मन्दिरबाटै रोजीरोटी चलेको छ ।
मन्दिर वरपरको मनोरम प्राकृतिक दृश्य र विभिन्न संरचना निर्माणले पर्यटकीय गतिविधि बढ्न थालेको छ । वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिरबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्यवलोकन गर्न पाइन्छ । जाडो याममा भन्दा गर्मी याममा भक्तजनहरुको घुँइचो लाग्ने गर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies