मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री थापाले फेरि संवाद यात्रा शुरु गरेका छन् । शुक्रबार कपिलवस्तुबाट सम्वाद यात्रा थाल्दै महामन्त्री थापाले पार्टी फेरि सरकारमा पुग्ने बताए । ‘भर्खर त गएको हो, एक डेढ हप्ता भयो । फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ’ उनले भने, ‘सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ ।’
महामन्त्री थापाको जस्तै दावी अर्का नेता प्रदीप पौडेलको पनि छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कांग्रेस फेरि सरकारमा पुग्ने बताए । ‘पर्खेर बसौं, कांग्रेसलाई यो देशले आफैं फेरि सत्तामा पुर्याउँछ’ पौडेलले भने, ‘अहिले जुन गठबन्धन बनेको छ । त्यो गठबन्धन चीरस्थायी हुँदैन । उहाँहरु आफैंमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ ।’
गत फागुन २१ गतेसम्म कांग्रेस सरकारमा थियो । तर नेकपा माओवादी केन्द्रले एमालेसँग सहकार्य अगाडि बढाएपछि कांग्रेस प्रमुख प्रतिपक्षीय भूमिकामा पुगेको हो । तर कांग्रेसका नेताहरु प्रमुख प्रतिपक्ष भूमिकामा नबसेर फेरि सरकारमै फर्किने कसरतमा लागेका छन् ।
कांग्रेसका नेता डा. शेखर कोइराला आफूहरु सत्तामा जान प्रयास गर्नु स्वभाविक रहेको बताउँछन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपक्षी भएको नाताले सत्तामा जान कोसिस गरिरहने र त्यो केही महिनाभित्रै सफल हुने दाबी पनि गरे ।
केही महिनाभित्रै वर्तमान सत्ता गठबन्धन टुट्ने र फेरि अर्को गठबन्धन बन्ने उनको विश्वास छ । डा. कोइराला भन्छन्, ‘फेरि अर्को गठबन्धन बन्छ केही दिनपछि, केही महिनापछि । पक्कै बन्छ । किन हामी विपक्षमा छौँ । हामी कोसिस गरिराखेका हुन्छौँ सत्तामा जानका लागि । यो स्वाभाविक हो ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies