दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले डेढ वर्षको अवधिमा तेस्रो पटक विश्वासको मत पाएका छन् । ११० सदस्यीय बागमती प्रदेश सभामा ५६ मत पाएर मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक सरकार जोगाएका छन् । हाम्रो नेपाली पार्टीको दुईमध्ये एक सिट लिएर टुप्लुक्क बहुमत पु¥याएका जम्कट्टेललाई सत्ता गठबन्धनभित्र थोरै बेमेल आउँदा नै संकट आइलाग्नेछ ।
सोमबार भएको मतदानमा जम्कट्टेलको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिए । नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेको छ भने राप्रपा तटस्थ रहेको छ ।
२५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले सोमबार तेस्रो पटक विश्वासको मत लिएका हुन् । पहिलो पटक ३ माघ २०७९ मा विश्वासको मत लिंदा उनलाई प्रदेशसभाका ६ दलको समर्थन थियो । त्यसबेला जम्कट्टेलले ११० मध्ये १०५ जना सांसदको समर्थन पाएका थिए । पहिलो पटक जम्कट्टेललाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का ३ जना सांसदले मत दिएका थिएनन् भने एक जना अनुपस्थित थिए ।
तर नेकपा एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक १० चैत २०७९ मा विश्वासको मत लिएका थिए । त्यसबेला जम्कट्टेललाई प्रदेशसभाका ६७ जनाले समर्थन गरेका थिए । मुख्यमन्त्री जम्कट्टेललाई उनको दल माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले मत दिएको थियो । विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले मत दिएका थिए ।
सोमबार तेस्रो पटक विश्वासको मत पाएता पनि उनलाई जुनसुकै बेला संकट आउन सक्छन् । प्रत्येक पटक विश्वासको मत लिँदा उनको पक्षमा मत संख्या घट्दै गएको देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies