काठमाडौं : अन्य दलहरु उम्मेदवार टुंगो लगाएर चुनावी प्रचारमा जुटिसक्दा नेपाली कांग्रेस इलाम– २ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णयमा पुग्न सकिरहेको छैन् ।
दुवै क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । यही चेत २४ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ । सोमबार मात्रै माओवादी केन्द्रबाट इलाम क्षेत्र नम्बर २ मा धीरेन्द्र शर्मा तिम्सिना उम्मेदवारका लागि एकल सिफारिशमा परेका छन् । एमालेले सुहाङ नेम्वाङ र रास्वपाले मिलन गुरुङलाई उम्मेदवार तय गरिसकेको छ । तर, कांग्रेसले उम्मेदवाबारे निर्णय लिन सकिरहेको छैन् ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारको विषयमा पार्टीका पदाधिकारीहरुसँग छलफल गरे । छलफलमा सभापति देउवाले उम्मेदवारका आकांक्षी, निर्वाचन क्षेत्रमा पार्टीको अवस्थाका विषयमा पार्टी पदाधिकारी र सम्बन्धित प्रदेश र जिल्लाका नेताहरुसँग बृफिङ लिए । तर, उम्मेदवारको टुंगो गरेका छैनन् ।
सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टीका उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, कोशीका सभापति उद्धव थापा र सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरसँग सामुहिक छलफल गरेका छन् । छलफलमा कोशीका सभापति थापा र सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पार्टीको गत चुनावको अवस्था, अन्य दलहरुको अवस्था, अन्य दलहरुको उम्मेदवार उनीहरुको प्रभावका विषयमा बृफिङ गरेका छन् ।
नेपाली कांग्रेसको सम्बन्धित पार्टी कमिटीले इलाम–२ र बझाङ १ का लागि उम्मेदवारहरुको सिफारिस गरिसकेको छ । कांग्रेसको क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले ६ जनाको नाम सिफारिस गरेको छ ।
जसमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका छन् ।
आचार्य २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए भने खड्का ४ मंसिर २०७९ को आमचुनावमा नेम्वाङसँगै पराजित भएका थिए ।
बझाङको उपनिर्वाचनका लागि जिल्ला कार्यसमितिले आकांक्षी १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
पृथ्वीबहादुरका छोरा अभिषेक सिंहसँगै सत्यराज भण्डारी, जगतप्रसाद जोशी, शान्ति बोहरा, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह, लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडाको नाम सिफारिस भएको छ ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले आवश्यक छलफल गरिसकेका छन् । उनका अनुसार दुवै क्षेत्रमा छिट्टै उम्मेदवारको टुंगो लाग्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies