शिव विक/मध्यान्ह
काठमाडौं : समाजवादी मोर्चा फेरि सक्रिय भएको छ । नेकपा एमाले समाहित हुने अनिश्चितताकाबीच नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित चार दलीय समाजवादी मोर्चाले स्थगित भएका पूर्व निर्धारित कार्यक्रमहरु अघि बढाउन थालेको हो ।
मंगलबार समाजवादी मोर्चाले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा बृहत अन्तरक्रिया कार्यक्रम राखेको छ । यसअघि चैत ३ गते गर्ने तय भएर स्थगित भएको अन्तरक्रिया गत फागुन २१ गते सत्ता समीकरण बदलिएपछि स्थगित भएको थियो ।
सत्ता समीकरणमा एमाले जोडिएपछि मोर्चाले एमालेलाई जोडिन आग्रह गरेको थियो । तर, एमालेले ठोस जवाफ नदिएपछि पूर्व निर्धारित कार्यक्रम अनुसार मोर्चा सक्रिय हुन लागेको हो ।
एमाले समाहित हुने अनिश्चितताकाबीच चार दलीय समाजवादी मोर्चाले स्थगित भएका पूर्व निर्धारित कार्यक्रमहरु अघि बढाउन थालेको हो ।
नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल समाजवादी मोर्चामा सत्तारुढ एमाले नआए पनि मोर्चा कायम रहने बताउँछिन् । वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने उनको आग्रह छ ।
समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै उनी सत्ता समीकरण फेरिँर्दैमा नरोकिने बताउँछिन् । एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआए पनि आपसी असमझदारी हुनु नहुने उनको धारणा छ ।
उनी भन्छिन्, ‘सत्ता समीकरण फेरिँर्दैमा समाजवादी मोर्चा रोकिँदैन् । एमालेसँग सत्ता सहकार्य भइरहेकाले मोर्चामा नआए पनि आपसी असमझदारी रहँदैन् ।’
उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आबद्ध पार्टीहरुका बिचमा नीति, कार्यक्रमहरुमा सहमति बन्दै गएमा एकताको तहसम्म पुग्ने विश्वास गर्छिन । हाल मोर्चाले समाजवादको आधार तयार पार्ने र सो प्रकारको नीति, कार्यक्रम बनाउने उदेश्य अनुरुप काम गरिरहेको उनी बताउँछिन् । मोर्चाले सरकारको नीति, कार्यक्रम र बजेटलाई समाजवादी बनाउनका लागि सल्लाह सुझाव पनि दिने उनको भनाइ छ ।
हाल समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव रहेका छन् । यसअघि मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए ।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार समाजवादी मोर्चाले हालसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संगठन विस्तार गरिसकेको छ । अब बाँकी रहेका जिल्लामा समाजवादी मोर्चा विस्तार हुने उनले जानकारी दिए ।
४ असार २०८० मा चार दलका शीर्ष नेताहरुले समाजवादी मोर्चाको घोषणा गरेका थिए । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले साझा अवधारणापत्रमा हस्ताक्षर गरेर समाजवादी मोर्चाको घोषणा गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies