शहबाज खान/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नाइट टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । जय नेपाल स्पोर्ट्स क्लब कपिलवस्तुको आयोजनामा तेस्रो पटक कृष्णनगर नगरपालिका–२ को रानी खेल मैदानमा नाइट टी–२० क्रिकेट प्रतियोगिताको शुरु भएकोे हो । प्रतियोगिता मंगलबार राति साढे ९ बजे उद्घाटन गरिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा २४ टिमले सहभागिता जनाएका छन् । नाइट टी–२० क्रिकेट खेलमा प्रथम स्थान प्राप्त गर्ने टिमलाई नगदसहित ८१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोस्रो स्थान हासिल गर्ने टिमलाई नगदसहित ४१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ ।
क्रिकेट खेल उद्घाटनपश्चात पहिले चरणमा आजाद झण्डानगर र युवा क्रिकेट क्लब विजयनगरले १०÷१० ओभरको खेलमा झण्डानगरले १० ओभरमा ७८ रनको लक्ष्य दियो । जवाफी ब्याटिङमा युवा क्रिकेट क्लब विजयनगरले ७८ रनको लक्ष्य पूरा गर्दै ६ विकेटले खेल जितेको छ । उक्त खेलमा म्यान अफ द म्याच सुनिल पाण्डेयले प्राप्त गरेको आयोजक समितिका तारिक खानले बताए ।
उद्घाटन सत्रमा स्पोर्ट्स क्लबका संरक्षक मिर्जा राशिद बेगले क्रिकेटप्रति युवाहरुको आकर्षण बढेको बताए । उनले क्रिकेट खेलमा तीनै तहका सरकारको लगानी आवश्यक देखिएको बताए ।
यस्तै राप्रपाका लुम्बिनी प्रदेश समिति सदस्य दीपक रजौरियाले क्रिकेट खेलले खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । उनले व्यावसायिकरुपमा खेलकुदलाई अगाडि बढाउनुपर्ने बताउँदै खेल स्टेडियमको अभावलाई सम्बन्धित निकायले समयमै ध्यान दिइ आवश्यक कदम चाल्नुपर्ने बताए ।
यसैगरी युवाहरुमा नेकपा (एमाले)का नेता तथा समाजसेवी शिव प्रसाद जायसवाल, मित्र राष्ट्र भारतका नगर पञ्चायत बढनीका चेयरम्यान सुनील अग्रहरी, नेकपा माओवादी केन्द्रका कृष्णानगर अध्यक्ष जावेद आलम खाँ, क्रिकेट प्रेमी पूर्वएम्पायर विनय शर्मालगायतले खेलमा सबै सरोकारवालाले चाँसो देखाउनुको साथै सरकारले आवश्यक बजेट विनियोजन गरी अगाडि बढ्नुपर्नेमा सुझाव दिएका थिए ।
जय स्पोर्ट्स क्लब कपिलवस्तुले कृष्णनगरमा तेस्रो पटक नाइट टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरेको र आउने दिनमा पनि क्रिकेट प्रेमी युवाहरुका लागि लगातार क्रिकेट प्रतियोगिता आयोजना गर्दै जाने आयोजक समितिका अध्यक्ष सुहेल खानले प्रतिबद्धता जनाए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies