काठमाडौं : भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा आज बरोडाले नेपाललाई ३७ रनले पराजित गरेको छ । जितका लागि बरोडाले प्रस्तुत गरेको एक सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव पाँच ओभरमा अलआउट हुँदै एक सय १९ रनमा समेटियो ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५६ रन बनाए । उनले ४३ बल खेल्ने क्रममा चार छक्का र तीन चौका प्रहार गरे । साथै विवेक यादवले १७, कुशल भुर्तेलले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् । कुशल मल्लले तीन, दीपेन्द्र सिंह ऐरी र आकाश जिसीले समान दुई/दुई रन बनाए भने अनिल साह र गुलशन झाले समान एक-एक रन बनाए ।
बरोडाको जितमा ध्रुव पटेलले चार विकेट लिए भने लक्षित टोक्सियाले तीन र जय आभालेले दुई विकेट लिए । साथै हेमन्त पुण्डेले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा आठ विकेटका क्षतिमा एक सय ५६ रन बनाएको थियो । उसका लागि शाश्वत रावतले ३१ रनको योगदान दिए भने ध्रुव पटेलले २९ रन बनाए । साथै अमित पासीले २६, मोहित मोङ्गियाले २० र अभिमन्यु सिंह राजपुतले ११ रन बनाए । नेपालका लागि करन केसी र गुलशन झाले दुई/दुई विकेट लिए भने आकाश चन्द, प्रतीश जिसी, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए ।
जारी प्रतियोगितामा नेपाल र गुजरात यसअघि फाइनलमा पुगिसकेका छन् । नेपाले गुजरातसँग भएका दुवै खेल र बरोडासँग भएको एक खेलमा विजयी हुँदै फाइनलमा पुगेको थियो । नेपाल र गुजरातबीचको फाइनल खेल आइतबार हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies