काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्यालले सहकारी ठगीमा आफनो कुनै पनि संलग्नता नरहेको भन्दै बचाउ गरेका छन् । केही दिनयता सार्वजनिक सञ्चारका माध्यमबाट मन्त्री अर्याल पार्टीका अन्य नेताहरूसँगै सहकारीको रकम अपचलनमा संलग्न रहेको दाबीसहित समाचार सार्वजनिक भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर ५ काठमाडौंले आउँदै गरेको नयाँ वर्षको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले बजारमा हल्ला फिजाइएजस्तो गरी सहकारी ठगीमा आफनो कुनै भूमिका नरहेको दाबी गरे ।
उनले भने, ‘२०७८ सालमा म सो सहकारीको उपाध्यक्ष थिएँ । तर मेरो कार्ययोजना र सहकारी सञ्चालकसँगका बिचार मेल खान नसकेपछि मैले २०७८ साल पुस ११ गते नै राजीनामा दिएको हो, सरकारले समस्याग्रस्त घोषणा गरेको हाम्रो नयाँ कृषि सहकारीमा अहिले मेरो कुनै संलग्नता नभएको स्पष्ट गर्न चाहन्छु ।’
एक करोड लगानी गर्ने योजना बनाइ पहिलो किस्ता स्वरुप २३ लाख रुपैयाँ लगानी गरेको सार्वजनिक गर्दै मन्त्री अर्यालले सहकारीबाट आफ्नो उक्त रकम अहिलेसम्म फिर्ता नपाएको दाबी गरे ।
सहकारीको उपाध्यक्ष नियुक्त भएदेखि राजीनामा दिएसम्मको अवधिमा आफूले कुनै पनि कारोबार नगरेको दाबी गर्दै श्रममन्त्री अर्यालले सहकारीका रजिष्ट्रारको रोहबरमा नै आफूले उपाध्यक्ष पदबाट राजीनामा दिएकाले बदमासीको गुञ्जायस नरहेकोसमेत दाबी गरे । मन्त्री अर्यालले आफूले ठगी नगरेको भन्दैमा कुनै कालखण्डमा सहकारीमा आवद्ध भएकै कारण ठग हो भन्ने कसैलाई छुट नहुने जिकिर गरे । उनले आरोप लगाउनु पूर्व एक पटक अध्ययन गरेर मात्रै लेख्न र बोल्न सञ्चारकर्मीहरूसँग आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies