सरु भुसाल/मध्यान्ह
पाल्पा : नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको नियमित बैठक पाल्पाको रानीघाटमा सम्पन्न भएको छ । प्रदेश प्रशिक्षण विभागको नियमित बैठकअन्तर्गत पाल्पामा चौथो बैठक राखिएको प्रशिक्षण विभागले जनाएको छ ।
बैठकमा प्रशिक्षण विभागाका सभापति तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भूवनप्रसाद श्रेष्ठले प्रदेशका १ सय ९ स्थानीय तहमै प्रशिक्षणलाई प्रभावकारी बनाउने गरी विभाग अगाडि बढेको बताए । उनले प्रशिक्षणले मात्रै पार्टीको संगठन मजबुत हुने भन्दै प्रशिक्षण कार्यक्रमलाई अगाडि बढाइएको बताए ।
उपसभापति श्रेष्ठले नेपाली कांग्रेसका अगुवा कार्यकर्तालाई प्रशिक्षित नगर्दासम्म पार्टी बलियो हुन नसक्ने धारणा व्यक्त गरे । उनले भने, ‘प्रशिक्षणमार्फत नीति, सिद्धान्त र विचारलाई परिस्कृत गर्दै अगाडि बढ्ने सोचलाई व्यवहारिक बनाउने हो भने देशव्यापीरुपमा पार्टी मजबुत बन्छ ।’
कांग्रेस पाल्पाका निवर्तमान सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले बैठकले पार्टीलाई थप चलायमान बनाएर लैजाने मात्र नभइ प्रेमको प्रतिक रानीमहल र पवित्र कालीगण्डकी नदीका आसपासमा भएको बैठकले प्रदेशका १२ वटै जिल्लामा आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले राजनीति र नेताहरुप्रति नकारात्मक अवधारणा फैलिएका बेला प्रशिक्षणबाटै पार्टी संगठनलाई मजबुत बनाउन सकिने बताए । सांसद रानाले राजनीति समर्पण र त्याग पनि हो भन्ने भावनालाई आमकार्यकर्ता र अगुवा नेताहरुबीच लैजान पनि प्रशिक्षण कार्यक्रम प्रभावकारी बन्न सक्ने उल्लेख गरे ।
बैठकमा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले प्रशिक्षण कार्यक्रमलाई तडकभडक भन्दा पनि कम खर्चमा धेरै उपलब्धिमूलक बनाउनुपर्ने बताए ।
बैठकमा कांग्रेस जिल्ला उपभापति तथा प्रशिक्षण शाखाका सभापति झपेन्द्र गहिरेको संयोजकत्वमा प्रशिक्षण शैली पुस्तिका प्रकाशन समिति गठन गरिएको छ । प्रदेशको प्रशिक्षण विभागको तर्फबाट जारी हुने उक्त पुुस्तिका प्रकाशनका लागि गहिरेको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा प्रशिक्षण विभागका सचिव बालकृष्ण पौडेल, सदस्यहरुमा क्रमश गुल्मीका गुणानीधी शर्मा, दाङका गोविन्द न्यौपाने, रोल्पाका कविता उपाध्याय रहेका छन् ।
बैठकका निर्णय सार्वजनिक गर्दै विभागका सभापति भुवनप्रसाद श्रेष्ठले आगामी वर्ष २०८१ को चैतभित्र प्रदेशभित्रका १ सय ९ स्थानीय तहमा पार्टी प्रशिक्षण सञ्चालन गर्ने, तीन महिनाभित्र प्रशिक्षण शैली पुस्तिका प्रकाशन र अर्को बैठक नवलपरासीमा गर्ने निर्णय गरेको जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies