काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकले एक घण्टाभित्रमा नै श्रम स्वीकृति पाउने सुनिश्चितता गरिएको बताएका छन् । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले विद्युतको आपूर्ति र इन्टरनेटको स्पिडजस्ता प्राविधिक समस्यालाई ध्यानमा राखेर कागजपत्र पुगेको अवस्थामा एक घण्टामा नै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने प्रबन्ध मिलाइएको बताए ।
श्रम स्वीकृतिका लागि श्रमिकले मुख्यगरी पासपोर्ट, भिसा र रोजगारदातासँगको सम्झौता पत्र पेस गर्नुपर्नेछ । त्यस्तै श्रमिकले बीमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको शुल्क भुक्तानी गरेको हुनुपर्ने व्यवस्था छ ।
मन्त्री अर्यालले श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेण्डमा नै श्रम स्वीकृति प्रदान गर्न सक्ने अवस्था रहेको भन्दै नीतिगत र प्राविधिक सुधारका साथै कर्मचारीको अथक प्रयासले एक घण्टामा श्रम स्वीकृति उपलब्ध गराउन सम्भव भएको बताए । मन्त्री अर्यालले छिटोभन्दा छिटो श्रम स्वीकृति दिने कामलाई व्यवस्थित बनाउन कर्मचारीहरूको अथक मिहिनेत लागेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन कर्मचारीले उत्तिकै मिहिनेत गर्नुपर्ने बताए ।
एक घण्टामा नै श्रम स्वीकृति प्रदान गर्नका लागि वैदेशिक रोजगार कार्यालयले वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०७९ संशोधन गरी एकै तहबाट श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ । यसअघिको व्यवस्थाअनुसार एउटा तहले कागजपत्र प्रमाणीकरण गर्ने र अर्को तहले स्वीकृति गर्ने व्यवस्था थियो । हालको प्रक्रियाले श्रम स्वीकृतिको कामलाई निक्कै नै सहज बनाएको श्रममन्त्री अर्यालले दाबी गरे । हाल दैनिक औसत १ हजार ६ सय जनालाई श्रम स्वीकृति प्रदान गर्ने गरिएको छ ।
श्रममन्त्री अर्यालले दोस्रो पटक मन्त्रालयमा पदभार ग्रहण गरेसँगै श्रम स्वीकृतिको प्रक्रियालाई एक घण्टामा छोट्याउन फेमिसका सफट्वेयर तथा हार्डवेयरका आपूर्तिकर्ता तथा कर्मचारीलाई निर्देशन दिएका थिए । मिटरब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिन आउने श्रमिकलाई तीन–चार दिन लगाएर अल्झाउने कार्य आफूलाई कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै उनले हाफ पाइन्ट, टिसर्ट र चप्पल लगाएर आउने श्रमिक कुनै पनि बहानामा ठगिनु नहुनेमा आफ्नो विशेष सरोकार रहेको बताए ।
वैदेशिक रोजगारमा जानेले आफ्नै मोबाइल वा कम्पप्युटरबाट अनलाइन आवेदन दिए श्रम स्वीकृति पनि अनलाइनबाट नै प्राप्त गर्न सक्ने र यसका लागि कुनै शुल्क पनि नलाग्ने, श्रमिकले कार्यालय धाइरहनु नपर्ने मन्त्री अर्यालले बताए । उनले भने, ‘सक्नुहुन्छ भने आफ्नै मोबाइल वा कम्प्युटरबाट आवेदन दिनुहोस् । आवेदन दिने सबै प्रक्रियाको जानकारी विभागको वेबसाइटमा राखिएको छ ।’
विभागले प्रयोगमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा छिटोछिटो समस्या देखिने गरेको छ । मन्त्री अर्यालले फेमिस सफ्टवेयर परामर्शदाताका एक जना प्राविधिकलाई विभागमा डेडिकेटेडरुपमा राखिएको र अन्य कर्मचारीहरुलाई दुई वटा सिफ्टमा परिचालन गरिएकाले तोकिएको समयमा श्रम स्वीकृति दिन कुनै समस्या नरहेको बताए ।
हाल सार्वजनिक बिदा र शनिबारको दिनमा पनि कर्मचारीलाई परिचालन गरिएको छ । अन्य दिन बिहान ७ देखि बेलुका ९ बजेसम्म गरी कर्मचारीले दुई सिफ्टमा काम गर्दे आएका छन् । मन्त्री अर्यालले सुधारका माध्यमबाट आगामी दिनमा कार्यलय समयमा मात्रै कर्मचारीले एकै सिफ्टमा काम गर्ने गरी सुधार गरिने पनि बताए ।
कार्यालयले अहिले कर्मचारीलाई प्रत्येक दिन श्रम स्वीकृतिका लागि निश्चित कोटा तोकेर जिम्मेवारी दिएको छ । काठमाडौं कार्यालय ताहाचलबाहेक ६ वटा प्रदेशबाट पनि नयाँ कम्तिमा ५० वटा र पुनः श्रम स्वीकृतिका लागि एक सय वटा टोकनको व्यवस्था गरिएको कार्यालयले जनाएको छ । पहिले कार्यालयले चाहेजति मात्र टोकन पाउने व्यवस्था थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies