दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित संघीय सत्ता गठबन्धन अनुसार गण्डकी प्रदेशमा नयाँ सरकार बनेको छ । नेकपा एमालेका खगराज अधिकारीले मुख्यमन्त्रीको शपथ लिएका छन् ।
तर उनको सरकार निर्माण प्रक्रियामा भने कतिपयले प्रश्न गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
सभामुख सहित ३१ सांसदको समर्थन रहेको भनी दाबी पेश गरेका अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका हुन् । चैत २१ मा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले बहुमतको आधारमा सात दिनभित्र सरकार गठनका लागि आह्वान गरेका थिए । चैत २७ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि समय तोकिएको थियो ।
तर सभामुखले राजीनामा नदिइकन मुख्यमन्त्रीलाई समर्थन रहेको भनी दाबी पेश गरे विषयलाई नेपाली कांग्रेसले असंवैधानिक कदम भनेको छ । कांग्रेस कोशीको नजिर देखाउँदै अदालत जाने तयारीमा छ ।
यसअघि सभामुख समेतको समर्थन लिएर कांग्रेसका उद्धव थापाले कोशी प्रदेशमा सरकार बनाएका थिए । त्यसबेला तत्कालीन विपक्षी दल नेकपा एमाले सर्वोच्च अदालतमा रिट लिएर गएको थियो ।
उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले सरकार निर्माणमा सभामुखलाई जोड्न नमिल्ने ब्याख्या गरेको छ । सर्वोच्च अदालतको ब्याख्यालाई वेवास्ता गर्दै गण्डकी प्रदेशमा सरकार बनाइएको छ ।
यसलाई कतिपयले सत्ताका लागि सत्तारुढ दल बदनाम हुन खोजेको भनी टिप्पणी गरेका छन् । किनभने, नयाँ सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत नपाए नयाँ सरकार ३० दिन पनि टिक्ने छैन ।
६० सदस्यीय गण्डकी प्रदेश सरकार बनाउन ३१ सांसद आवश्यक पर्छ । नेकपा एमालेसँग २२ सांसद छन् । नेकपा माओवादी केन्द्रसँग सभामुखसहित ८ जना सांसद छन् । फणिन्द्र देवकोटा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट माओवादीको चुनाव चिन्हमा चुनाव लडेका सांसद छन् । देवकोटा नयाँ गठबन्धनलाई समर्थन नगर्ने संकेत गरेका छन् ।
यस्तो अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिँदा उनको पक्षमा माओवादी र एमालेको तर्फबाट २८ मत मात्रै खस्न सक्छ । सभामुखले राजीनामा दिएर अर्को पार्टीको जेष्ठ सदस्य भएर सभा संचालन भए २९ सांसद पुग्छ । अर्का स्वतन्त्र सांसद दिपक मनाङे सरकारमै सहभागी भएकाले उनको मत जोड्दा ३० मत पुग्छ ।
यसकारण नयाँ सरकारले विश्वासको मत पाउन फणिन्द्र देवकोटाको मत अनिवार्य आवश्यक छ । राप्रपाका दुई जना सांसद छन उनीहरुले मत दिए पनि पुग्छ । तर राप्रपाले एमाले नेतृत्वको नयाँ गठबन्धनलाई समर्थन नगर्ने औपचारिक निर्णय नै लिएको छ । नयाँ सत्ता गठबन्धनमा समस्या भए सबैभन्दा ठूलो दलको हैसियतमा सरकार बनाउने कांग्रेसको तयारी छ । गण्डकी प्रदेशमा कांग्रेसका २७ सांसद छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies