मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आइतबारसंसदीय दलको बैठकमा बोल्न नपाएको विषयमा छलफल भएको छ ।बैठकमा लामिछानेले
आफू संसदमा उठेका प्रश्नहरुको जवाफ दिने तयारीमा रहेको, तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नमानिरहेको ब्रिफिङ गरेका थिए । यसअघि आफू तीन पटक जवाफ दिने तयारीसहित संसद भवन पुगेको, तर नपाएको लामिछानेले बताएका छन् । दुई पटक कार्यसूची तय भएर पनि गृहमन्त्रीले प्रतिनिधिसभाको रोष्ट्रम प्रयोग गर्न पाएका थिएनन् ।
दुई पटक कार्यसूची तय भएर पनि प्रतिनिधि सभाको रोष्ट्रममा जान नपाएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने फेरि पनि संसदमा उठेका प्रश्नहरुको जवाफ दिन पाउनुपर्ने अडानमा छन् । तर, कांग्रेसले गृहमन्त्रीलाई सुन्न चाहिरहेको छैन ।
सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले गत फागुन २४ गतेदेखि संसदमा प्रश्न उठाइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न नरहेको प्रहरी ब्रिफिङ रहेको जवाफ दिएपछि कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।
संसदीय छानबिन समितिलाई बटमलाइन बनाएको कांग्रेस गृहमन्त्रीलाई रोष्ट्रममा सुन्न तयार छैन । यसअघि यही चैत दुई गते गृहमन्त्री लामिछानेलाई सभामुखले राजनीतिक दल सम्बन्धी ऐनको संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए लगत्तै कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।
चैत २१ गते पनि गृहमन्त्री लामिछाने प्रतिनिधिसभाको रोष्ट्रम पुग्ने कार्यसूची तय भएको थियो । प्रतिनिधि सभामा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिने तयारी गरेर संसद भवन पुगेका लामिछानेले रोकिनु परेको थियो ।
सभामुख घिमिरेले पनि गृहमन्त्री लामिछाने सहित उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई बोल्न दिनेगरी कार्यसूची तय गरेका थिए । तर यो कार्यसूची सभामुखले तय गरेको थाहा पाए लगत्तै कांग्रेसले आपत्ति जनायो ।
कांग्रेसको आपत्तिपछि सत्तारुढ दलका सांसदहरुले मनाउने पर्यास गरे । नसकेपछि सभामुख घिमिरेले नै गृहमन्त्रीले मागेको समय आफूले उपलब्ध नगराउने प्रतिवद्धता जनाएपछि त्यसदिनको बैठक अगाडि बढेको थियो ।
त्यसपछि बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्व प्रकाश शर्माले यही चैत २७ गतेसम्म लामिछानेमाथि छानबिन समिति गठन गर्न सरकारलाई अल्टिमेटम दिए । अन्यथा, प्रतिनिधि सभाको बैठक चल्न नदिने उनको चेतावनी छ ।
सदन चलाउन सभामुख सक्रिय
संसदमा प्रतिपक्षले उठाइरहेको प्रश्न र समस्या समाधानको विषयमा पहल लिन सभामुख देवराज घिमिरे सक्रिय भएका छन् । आइतबार नेताहरुसँग अनौपचारिक संवाद गरेका सभामुख घिमिरेले सोमबार शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सोमबार बिहान १० बजे सभामुखसहित शीर्ष नेताहरुको छलफल हुनेछ ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies