धनकृष्ण बिक/मध्यान्ह
बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा २ करोड बढी लगानीमा बहुउदेश्यीय कभर्डहल निर्माण भएकाे छ । बढीमालिका नगरपालिकाले ८ वर्ष अगाडि निर्माण कार्यकाे थालनी भएकाे हलकाे निर्माण कार्य सम्पन्न भएको जानकारी दिएको छ ।
२०७३ सालमा निर्माण कार्य शुरु गरिएको बहुउदेश्यीय कभर्डहल अलपत्र परेपछि बडीमालिका नगरपालिकाको लगानीमा निर्माण सम्पन्न गरिएको हो । कभर्डहल निर्माण अलपत्र परेपछि बडीमालिका नगरपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरी निर्माण सम्पन्न गरिएको नगर प्रमुख अमर बहादुर खड्काले बताए ।
२०७३ वैशाख ११ गते तत्कालीन उपप्रधान तथा रक्षामन्त्री भीम रावलले कभर्डहलको शिलान्यास गरेका थिए । संविधानसभा सदस्य तथा तत्कालीन उद्योग मन्त्री कर्ण बहादुर थापाको संसद विकास कोषबाट बजेट विनियोजन गरी निर्माण कार्य थालनी गरिएको थियो । थापाको संसद विकास कोषबाट ५० लाख विनियोजन भएपनि निर्माण कम्पनीले सम्झौताअनुसारको काम नगरेको जिल्ला खेलकुद समितिको तथ्याकंमा उल्लेख छ ।
२०७४ सालमा खेलकुद परिषदबाट ४० लाख, २०७५ सालमा खेलकुद परिषदबाट पुनः ४० लाख गरी ८० लाख र २०७५ सालमा सांसद लालबहादुर थापाको संसद विकास कोषबाट ४५ लाख विनियोजन भएको भए पनि ठेकदारको लापरबाहीका कारण काम हुन नसकेको खेलकुद विकास समितिले जनाएको छ ।
त्यसैगरी २०७६ सालमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदबाट ५० लाख रुपैयाँ विनियोजन भएपछि निर्माण व्यवसायी रामप्रसाद रेग्मीले निर्माण कार्यको जिम्मा लिएका थिए । त्यतिबेला सबै रकम निकासा भएपनि काम भने पूरा नभएको खेलकुद विकास समिति बाजुराका अध्यक्ष राकेश थापाले बताए ।
कभर्डहल निर्माणमा तीनै तहका सरकारले बेवास्ताका कारण निर्माण पूरा नहुँदै अलपत्र परेपछि बडीमालिका नगरपालिकाले २५ लाख बजेट विनियोजन गरेर हाल निर्माण कार्य सम्पन्न गरेको हो । बाजुराको खेल क्षेत्रको विकास र यहाँका युवाहरुलाई खेल क्षेत्रतर्फ आकर्षित गराउने उद्देश्यका साथ उक्त कभर्डहल निर्माणको थालनी गरिएको थियो ।
सदरमुकाममा सामान्य खालको खेल मैदानसमेत नहुँदा यहाँका खेलाडीहरुले सरकारी विद्यालयसँग मैदानका लागि गुहार गर्नुपर्ने बाध्यता रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies