लक्ष्मण यादव/मध्यान्ह
सर्लाही : सर्लाहीमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ भने ५ वटा घरमा क्षति पुगेको छ । बसबरीया गाउँपालिकाको वडा नं. ३ भवानीपुर (मुसहरी टोल) मा आगलागी भएको हो । स्थानीय राम विश्वास माझीको घरबाट सल्किएको आगोले बस्तीका ६ घर जलेर नष्ट भएको छ भने ५ घरमा क्षति पुगेको छ ।
सोमबार बिहान साढे ११ बजे माझीसहित उनका सपरिवार घर बाहिर काममा निस्किएको बेला घरमा आगो लागेको थियो । आगलागीपछि उनको घरमा राखिएको ग्यास सिलिण्डर पड्किँदा क्षणभरमै उनको घरबाट छिमेकीको घरमा आगो सल्किएको र बस्तीमा पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार माझीसहित स्थानीय विन्देश्वर माझी, दिनेश माझी, नरेश राय यादव, जोखु मुखिया र महेशी रायको घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने अन्य ५ घरमा क्षति पुगेको छ ।
आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा हरिवन र मलंगवा नगरपालिकाको वारुणयन्त्र परिचालन गरिएको थियो । तर आगलागी भएको बस्तीको सडक साँघुरो भएका कारण दुई वटा वारूणयन्त्र एकैपटक प्रयोग हुन नसकेर आगो नियन्त्रणमा लिन समस्या भएको स्थानीय गौरीशंकर यादवले बताए ।
उनका अनुसार आगो नियन्त्रणमा लिन पहिले मलंगवाको दमकल प्रयोग गरिएको थियो । त्यसको पानी सकिएपछि पुनः हरिवन नगरपालिकाको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो । विद्युत सट भएर आगलागी भएको हुन सक्ने स्थानीयको अनुमान छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies