मनोज साह/मध्यान्ह
रौतहट : रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले हरेक किसिमका अभियान थालनी गर्दा एक्लो हुने भएपनि सार्थकता भने पाउनुपर्ने बताएका छन् । हरेक व्यक्तिले आफ्नो जन्मदिनलाई सत्कर्म र पुण्यसँग जोडिनुपर्ने उनको धारणा छ । रौतहटको चन्द्रपुरमा सोमबार 'जन्मदिनलाई सत्कर्ममा जोडौं अभियान'अन्तर्गत वृक्षारोपण कार्यक्रममा बोल्दै उनले पृथ्वी र प्रकृतिसँग मानव सम्बन्ध जोडिएकाले प्रकृति नभएमा मानव अस्तित्व नरहने उल्लेख गर्दै यसबारेमा धेरै जानकार भएपनि व्यवहारमा लागू नभएको बताए ।
प्रकृति नै हाम्रो जीवन हो भन्ने चेतना मानवमा हराउँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । प्रकृतिलाई माया र संरक्षण गर्नुपर्ने धारणमा हराउँदै गएकाले यसलाई जागृत गर्ने बेला भएको उनले बताए । प्रकृति भनेको रुख बिरुवाको संरक्षण, वृक्षारोपण, हरियाली सिर्जना, जीवजन्तुको संरक्षण र खोला तटबन्ध गर्नेलगायतका कार्यहरु रहेको उनले चर्चा गरे । अहिले गाँउ घरमा रहेका ठूला ठूला वर–पिपलका रुख अघिल्ला पुस्ताले रोपेको र अहिलेकाले छहारी र शितलता पाएको उनले बताए । अहिलेको पुस्ताले रोपेका बिरुवाको उपभोग पछिका पुस्ताले गर्ने उनको भनाइ थियो । हरेक दृष्टिकोणले बोटबिरुवा आवश्यक भएकाले जन्मदिन वृक्षारोपण गरेर मनाउन उनले सुझाव दिए । यसअघि पर्सामा रहँदा वीरगञ्जमा समेत हरित अभियान सञ्चालन गरिएको उनले स्मरण गरे ।
सो कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्राले वन विनास गर्नेलाई संरक्षण वा वृक्षारोपणका लागि सुझाव दिने गरेको बताए । वन संरक्षण गर्नु सबैको दायित्व भएकाले आ–आफनो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको धारणा छ । वनको महत्व र फाइदा सबैले बुझ्नुपर्ने उनको भनाइ छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले वन संरक्षणत्मक काम गर्दै आएको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाईंले सामाजिक वा पुण्यको कार्य गरेर परम्परात शैलीमा जन्मदिन मनाउनुपर्ने बताए । जन्मोत्सवमा महँगो होटलमा भोज गर्नु गलत भएको उल्लेख गर्दै उनले वृक्षारोपण गरेर जन्मदिन मनाउन आग्रह गरे । नयाँ पुस्तालाई संस्कार सिकाउनका लागि पनि सत्कर्म आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका सहसचिव दिपेश पौडेल, पूर्वकोषाध्यक्ष रमेश तिमल्सिना, पत्रकार अनमोल कार्की, सुब्बा कार्कीसहित स्थानीय खडग बहादुर कार्की, चेतनगरका समाजसेवी श्याम श्रेष्ठ सिन्धुरेघारी माविका प्रधानाध्यापक सत्रुधन प्रसाद साह, सन्तपुर, जुडिबेला माविका प्रधानाध्यापकको उपस्थिति रहेको थियो ।
सो अवसरमा चाँदी नदीको किनारमा रहेको जमिनमा विभिन्न प्रजातीका बिरुवाहरु रोपिएको थियो । तराई विकास तथा सञ्चार केन्द्र काठमाडौंको आयोजनामा भएको वृक्षारोपण अभियान निरन्तर चलिरहने जनाइएको छ । यो अभियान जुडिबेला, गैंडाटार, पौराइ, बागमती हुँदै चोचामैरासहित सबै क्षेत्रमा सञ्चालन गर्ने आयोजकको योजना रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies