पुर्ण कुमार/मध्यान्ह
डोल्पा : डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएका चार सैनिकलाई नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको छ ।
डोल्पाको दुनैस्थित जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि प्रारम्भिक स्वास्थ्य उपचार गरेर सैनिक हेलिकप्टरमार्फत उनीहरूलाई सोमबार नेपालगञ्ज पठाइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए ।
उनका अनुसार देवीदक्त गण ‘क’का ३० वर्षीय प्यूठ विजय कोइराला र २३ वर्षीय सिपाही आशिष बुढालाई पहिलो र ३८ वर्षीय जम्दार केशव बहादुर मगर र २८ वर्षीय हेमन्त रावललाई दोस्रो चरणमा सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
सदरमुकामस्थित देविदत्त गण भदालेले आइतबार दिउँसो ब्यारेकभित्र र वरिपरि रहेका फोहोर जलाउँदा एक्कासी चलेको हावाहुरीका कारण सामुदायिक वनमा आगो सल्किएको थियो । आगो सल्किएलगत्तै त्यसको नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो ।
आइतबार आगोले जलेका काठका टुक्राले सोमबार पुन: आगो जागेको थियो । त्यसक्रममा विपरीत दिशाबाट हावा बेस्सरी चल्दा फेरि आगो लागेपछि खोल्सामा आगो निभाउन पुगेका जवानहरु जलेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकरी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies