काठमाडौं : आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नेपाली टिमले लगाउने जर्सी सार्वजनिक गरेको हो ।
सार्वजनिक जर्सी रातो, निलो, हलुका सेतो र पहेँलो रंगको रहेको छ । जर्सीको सबैभन्दा माथि चन्द्र र सूर्य रहेको छ । सबैभन्दा तल एक सिङे गैँडा र सगरमाथा रहेको छ । बीचको भाग निलो रंगको रहेको छ । सोही भागमा पहेँलो रङले नेपाल लेखिएको छ । बाहुलाको तल, गलाको माथि, सगरमाथा र गैँडाको रंङ रातो रहेको छ । छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो छ । पछाडिको अधिकांश भाग निलो रंगमा छ । जर्सी नम्बरमाथि खेलाडीको नाम छ । तल्लोभागमा सगरमाथा नै छ ।
क्यान सचिव पारस खड्काका अनुसार जर्सी विश्वकपअघि नेपालमा हुने शृंखलामै प्रयोगमा आउने छ । आगामी जेठमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन् ।
नेपाल रहेको समूह ‘डी’मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ । बाँकी खेलहरु नेपालले वेस्ट इन्डिजमा खेल्नेछ । जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।
विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन् । त्यसपछि १९ देखि २४ जुनसम्म सुपर–८ हुनेछ । सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies