काठमाडौं : पछिल्लो समयमा नेपालमा निजी तथा सार्वजनिक यातायातको रुपमा विद्युतीय सवारी साधनको आकर्षण बढ्दै गएको छ । जसकारणले सवारी साधनहरुले विद्युतीय चार्जिङ स्टेशनबाट बिजुली खपत गर्ने दर पनि बढ्दै गएको छ ।
विद्युतीय चार्जिङ स्टेसनहरुले मात्रै दैनिक एक लाख युनिट बिजुली खपत गरिरहेको छ । साझा यातायातले सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको शुभारम्भ गर्ने कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेसनमा मात्रै दैनिक एक लाख युनिट विद्युत खपत हुने गरेको बताए । उनले सो विद्युत खपतबाट दैनिक करिब दुई करोड रुपैयाँ बराबरको डिजेल/पेट्रोल प्रतिस्थापन हुने गरेको समेत उनले बताए ।
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्षमा चार हजार ५० वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो भने तर, चालु आवको आठ महिनामा छ हजार चार सय ३५ वटा विद्युतीय गाडी आयात भइसकेको छ । जुन हालसम्मकै उच्च संख्या हो । पछिल्लो समयमा नेपालमा विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले पेट्रोल पम्पको सट्टामा चार्जिङ स्टेसन व्यवसायको सम्भावना समेत बढेर गएको देखाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पेट्रोलियम पदार्थका सवारी साधनलाई प्रतिस्थापन गर्न विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । उनले विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्ने गरी आवश्यक नीति ल्याउन गृहकार्य भइरहेको पनि बताएका छन् ।
प्राधिकरणका निर्देशक घिसिङकाअनुसार चार्जिङ स्टेसनहरुमा भइरहेको अहिलेको दरमा विद्युत खपत हुँदा भविष्यमा पाँच खर्बको आयातलाई प्रतिस्थापन गर्न सकिन्छ । उनले चार्जिङ स्टेसनको माग पछिल्लो समय अत्याधिक रुपमा वृद्धि भएको बताए । नगरपालिका, अस्पताल र निजी क्षेत्रबाट विद्युतीय चार्जिङ स्टेसन राख्न माग आइरहेको उनको भनाइ छ ।
निजी क्षेत्रसहित चार सय वटा चार्जिङ स्टेसन जडान भएको ती चार्जिङ स्टेसनमार्फत् करिब हजार भन्दा बढी माइक्रोबसहरु देशभर चलिरहेको निर्देशक घिसिङले बताएका छन् । विद्युतीय बस डिजेलबाट सञ्चालन हुने बसको तुलनामा १० देखि १५ गुणा सस्तो हुने उनको भनाइ छ । विद्युत खपतमा वृद्धि गर्नको लागि पनि सरकारले पुराना बस प्रतिस्थापनको नीति ल्याउनुपर्ने उनले बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies