-विमला ढकाल
नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्याल प्रतिनिधिसभाको शून्य समय छुटाउँदिनन् । उनी भन्छिन्, ‘ठूलो पार्टी भएकाले अन्य समय पाउन पर्खिनुपर्छ । शून्य समय सांसदको समय हो । आफ्नो समय छोड्ने कुरै भएन ।’
४ मंसिर २०७९ मा सम्पन्न निर्वाचनपछि समानुपातिक प्रणालीतर्फबाट माननीय भएकी कोइराला प्रतिनिधिसभाको तीन वटा अधिवेशन चलिरहँदा जम्मा तीन वटा बैठकमा अनुपस्थित रहेको बताउँछिन् । ‘आमाको मृत्यु भएकाले प्रतिनिधि सभाको अन्तिमतिर तीन वटा बैठकमा उपस्थित हुन सकिँन । बाँकी प्रतिनिधि सभाका सबै बैठकमा उपस्थित भएकी छु र प्रत्येक बैठकको शून्य समयमा बोलेकी छु ।’
शून्य समय वा अन्य समयमा उठाएका विषय कार्यान्वयनमा चासो राख्ने पनि सांसद पौड्यालको स्वभाव छ । सांसद कोइराला भन्छिन्, ‘बोलेका कुरा जनताले पूरा भएको पनि देख्न पाउनुपर्छ भन्ने लाग्छ । यसनिम्ति लबिइङ पनि गर्छु ।’ सामान्य विषय उठाउने र कार्यान्वयनमा चासो राख्ने गर्दा उठाएका अधिकांश विषय सम्बोधन हुन पुगेको उनको अनुभव छ ।
पहिलो पटक सांसद भएकी र संसदीय अभ्यासमा रमाइरहेकी रमा पहिलो दिन संसदा बोल्दा केही अप्ठ्यारो लागेको सुनाउँछिन् । तर पहिलो दिन नै उठाएको विषय, त्यसले पाएको प्रतिक्रिया र प्रभावले उनलाई अगाडि बढ्न हौसला प्रदान गरिरहेको छ । २१ माघ २०८० मा पहिलो पटक संसदको शून्य समयमा बोलेकी उनले तीन विषय उठाएकी थिइन् ।
पहिलो– श्रमिकको न्यूनतम ज्याला बढाउनुपर्ने,
दोस्रो– भक्तपुरवासीलाई मेलम्चीको पानी खुवाउनुपर्ने,
तेस्रो– संसदमा शिशु स्याहार केन्द्रको व्यवस्था मिलाउनुपर्ने ।
तीन वटै विषय सम्बोधन भएको सांसद पौड्याल बताउँछिन् । संसदमा शिशु स्याहार केन्द्रको व्यवस्था मिलाउनुपर्ने विषयले उनी त्यस दिनका सञ्चार माध्यमहरूमा छाइन् । हाल संसद भवनमा बच्च भएका महिलाका लागि स्तनपान कक्ष निर्माण भएको छ । भक्तपुरवासीलाई मेलम्चीको पानी खुवाउनुपर्ने भनी उठाएको विषय पनि डिपिआर गरेर काम सुरु भएको छ । मेलम्चीका पानी दिने भनेर यसका लागि पनि काम सुरु भएको छ ।
श्रमिकको न्यूनतम ज्याला बढाउनुपर्ने विषय पनि सम्बोधन भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा न्यूनतम ज्याला १५ हजारबाट १७ हजार पु¥याएको छ । आफूले उठाएका विषयहरु सम्बोधन हुँदा उनी खुसी छन् । भन्छिन्, ‘थोरै बोलेर पनि धेरै प्रभाव पार्न सकिन रहेछ भन्ने भयो ।’
हाल भक्तपुरको विषय उनी संसदमा निरन्तरजसो उठाउँछिन् । भक्तपुरमा स्मार्ट सिटीले पार्न सक्ने प्रभाव, भक्तपुर क्षेत्रका सडक लगायत कार्यमा उनको आवाज निरन्तरजसो उठाइरहेकी हुन्छिन् । नियमित संसदीय गतिविधिमा भाग लिने र सामान्य लाग्ने तर, दैनिक जीवनयापनका विषय उठाउने माननीय पौड्यालको प्रवृतिको सिको अन्य सांसदहरुले पनि गर्न थालेका छन् । ठूला कुरा गरेर भन्दा जनताका आवाज उठाएरै स्थापित हुन सकिने उनको विश्वास छ ।
भक्तपुरको ज्यादा कुरा उठाउने गरेता पनि उनी भक्तपुरमै जन्मे हुर्केकी होइनन् । भोजपुरमा जन्मिएकी कोइराला विवाह गरेर संखुवासभा पुगिन् । कामको सिलसिलामा २०४३ सालदेखि २०६२ सालसम्म सुनसरीमा बसिन् । सुनसरीको साझा बालिका उच्च माविमा १९ वर्ष लेखापाल काम गरेकी उनी २०४७ सालदेखि नेपाली कांग्रेसको ट्रेड युनियनमा आबद्ध भइन् ।
२०४७ सालदेखि राजनीतिमा होलटाइमर रहेता पनि उनी पहिलो पटक मानीय भएकी हुन् । २०७० सालमा समानुपातिक सूचीमा परे पनि सांसद हुन सकिनन् । आठ वर्षदेखि भक्तपुरको दधिकोटमा स्थायी बसोबास गर्दै आएकी उनी २०७९ सालको चुनावमा समानुपातिक कोटाबाट भक्तपुरको प्रतिनिधित्व गर्दै सांसद भइन् ।
भक्तपुरबाट संसद भवन नयाँ वानेश्वर आउँदा सार्वजनिक यातायात चढ्छिन् । ‘नियमित सार्वजनिक यातायात चढ्दा जनताका कुरा सुनिन्छ । आफ्नै निर्वाचन क्षेत्रका र घर आसपासका मानिससँग नियमित कुराकानी भइराख्छ’ उनी संसदमा नियमित उठाउने विषय कसरी संकलन गर्ने भन्ने प्रश्नमा जवाफ दिन्छिन् । आवस क्षेत्रका नागरिकसँग समेत नियमित संवाद गरिरहेका कोइरालाले संसदमा वैदेशिक रोजगारी, वृद्धवृद्धाको संरक्षण, पारिवारिक विखण्डनका कारण र समाधानका उपायका विषयहरू उठाइरहन्छिन् ।
तर एक्लो प्रयासले समग्र नतिजा प्राप्त नहुने उनको बुझाइ छ । उनी भन्छिन्, ‘म एउटा श्रमिक महिला संसदमा पुगेको छु । पहिले संसद बाहिर जति सक्रिय थिएँ, त्यति नै सक्रिय संसदमा छु । व्यक्तिगत पहल र त्यसको प्रभावले खुसी तुल्याउँछ । तर, कानुन निर्माणका दृष्टिमा भने सरकारबाटै कियरलेस हुँदा समग्रतामा रिजल्ट दिन सकिएन झैँ लाग्छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies