काठमाडौं : विद्युत उत्पादनमा आएको कमिका कारण उद्योगहरुमा लोडसेडिङको समस्या बढेको छ । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा पिक आवरमा अनौपचारिक रुपमा विद्युत आपूर्ति बन्द गर्ने गरेको छ । उद्योगीहरुका अनुसार पछिल्लो समयमा औद्योगिक क्षेत्रमा १२ घण्टासम्म पनि विद्युत आपूर्ति हुँदैन । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले जनकपुरमा रहेको आफ्नो उद्योगमा १२ घण्टासम्म लोडसेडिङ हुने गरेको बताए । उनले लोडसेडिङका कारण धेरै उद्योगीहरु उद्योग नै बन्द गर्ने अवस्थामा पुगेको बताएका छन् ।
‘१२ घण्टासम्म लोडसेडिङ भयो, हामी त उद्योग नै बन्द गर्ने अवस्थामा पुगिसक्यौं’, अध्यक्ष थापाले विकासन्युजसँग भने, ‘सबै औद्योगिक क्षेत्रमा लोडसेडिङ भएको छ, समय फरक–फरक होला, जनकपुरमा साँझ ६ बजेबाट बिहान ६ बजेसम्म बिजुली आउँदैन, यसरी उद्योग चल्छ ?’
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भने पिक आवरमा बढी विद्युत मागका कारण औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा समस्या भएको प्रतिक्रिया दिएका छन् । तर, उनले औपचारिक रुपमा लोडसेडिङ भने नगरेको बताए । उनकाअनुसार अहिले नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेका आयोजनाहरुले अधिकतम तीन सय १० मेगावाट र निजी क्षेत्रका आयोजनाहरुले अधिकतम ७६३ मेगावाट मात्रै विद्युत उत्पादन गर्दै आएका छन् । निजी प्रवद्र्धकहरुले फागुन मसान्तसम्मको प्रतिबद्धता भन्दा दुई सय ६३ मेगावाट कम उत्पादन गर्दै आएका छन् । प्राधिकरणले भारतसँग गरेको सम्झौताअनुसार भने पाँच सय ५४ मेगावाट पनि विद्युत आयात गर्दै आएको घोषले बताए ।
तर विद्युत उत्पादन बढी हुँदा वा भारतबाट थप आपूर्ति गर्नसक्दा पनि आवश्यक पूर्वाधार नभएकोले थप विद्युत प्रशारण गर्न नसकिने अवस्था रहेको घोषले उनले बताएका छन् । आगामी दिनमा खडेरी बढ्दै जाने र प्रशारण लाइनको क्षेत्रमा पनि काम हुन नसकेमा औपचारिकरुपमा नै लोडसेडिङमा प्राधिकरण प्रवेश गर्नसक्ने देखिएको छ । त्यस्तो अवस्था सिर्जना भएमा आर्थिक मन्दीको मारमा परेका उद्योगहरु फेरि लोडसेडिङको मारमा पर्नसक्छन् ।
‘पूर्वाधार बनाउन नसकेमा थप विद्युत आपूर्ति गर्नसक्ने अवस्था छैन, ढल्केबरदेखि इनरुवासम्मको तारको काम १२ दिनमा सकिन सक्छ, तर अवरोधका कारण हुन सकिरहेको छैन’, प्रवक्ता घोषले भने, ‘एक सय ५६ किलोमिटर मध्ये २१ किलोमिटरको काम मात्रै बाँकी छ, नयाँ बुटवलदेखि बर्दघाटसम्मको जम्मा ५७ वटा टावरको काम गर्न सकिएको छैन ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies