कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र १४ गते हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको हो ।
‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको हो । नेपाल सरकारले भारतमा १० बर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता गरिसकेको, सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र निर्माण भइसकेको इप्पानले जनाएको छ ।
तेस्रो लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना हुने सो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रुप दिनेगरी निजी क्षेत्रबाट एक्स्पो आयोजनाा गरिएको आयोजकले जनाएको छ । नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका वारेमा ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ ।
एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय÷कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुकोबारे नीतिगत बहसका साथै नयाँ–नयाँ प्रविधि र उपकरणहरुको प्रदर्शनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशहरुको सहभागिता निश्चित भएको इप्पानले जनाएको छ ।
एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies