आबिद हुसेन/मध्यान्ह
वीरगञ्ज : नेपाली मुस्लिम समाज पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । मुस्लिम धर्मावलम्बीमाथि आक्रमण गर्ने खालका खबर सम्प्रेषण गरेकोमा आपत्ति जनाउँदै मुस्लिम समाज पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसााललाई ज्ञापनपत्र बुझाएको हो ।
नेपाली मुस्लिम समुदायले सामाजिक हित, राष्ट्रहित, लोकतन्त्र र परिवर्तनका लागि खेलेको भूमिकालाई नजरअन्दाज गर्दै सरकारले पनि मुस्लिमसँग सौतेलो व्यवहार गरेको ज्ञापन पत्र बुझाउन गएका मुस्लिम अगुवा जफर अन्सारीले बताए । रोजाको अवसरमा सामाजिक सञ्जालमा आपत्तिजनक कुराहरु लेखेर मुस्लिम समुदायलाई आँच आउने काम गरेकोमा ज्ञापनपत्रमार्फत आपत्ति जनाउँदै उनीहरुले कारबाहीका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
२८ चैतमा सामाजिक सञ्जालमार्फत सर्वाेच्च अदालतका निवर्तमान न्यायाधीश कमलनारायण दासले लेखेको कुराले मुस्लिम समुदायमाथि ठेस पुगेको ज्ञापनपत्रमा उल्लेख छ । ‘संविधानको भाग ३ मा उल्लेखित मौलिक हक र कर्तव्यको उल्लंघन भएको छ । प्रत्येक नेपालीले वर्तमान संविधानलाई हृदयले मानेको अवस्थामा कमलनारायण दास संविधानको खिलाफ जानुभएको छ’, ज्ञापनपत्रमा लेखिएको छ ।
मुस्लिम समुदायका ईश्वरीय दूत पैगम्बर मुहमद स.को चरित्र हत्या गर्ने व्यक्तिउपर आवश्यक कारबाही गर्न गृहमन्त्रीसँग माग गरिएको छ । साथै मुस्लिम समुदायको संवैधानिक जिउज्यानको सुरक्षा गर्न तथा मस्जिद, मदरसालगायतका धार्मिकस्थलको सुरक्षा गर्न पनि ज्ञापनपत्रमार्फत माग गरिएको छ ।
शान्तिपूर्वक बाँच्न पाउने तथा आस्थाअनुसारको कार्य गर्ने वातावरणको सिर्जना गरिदिन पनि माग गरिएको छ । ज्ञापनपत्र बुझाउनका लागि जफर अन्सारी, मेहबुब अलि, रेयाज अहमद, शेष मन्सुर, अनवर हुसेन, अब्बास मंसुरीलगायत जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
यसै विषयमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कमलनारायण दासको नामबाट भएको पोस्टप्रति आपत्ति जनाएका छन् । मुस्लिम समुदायको पवित्र रमजान महिनामा पर्ने रोजालाई इंगित गर्दै मुस्लिम समुदाय, इस्लाम धर्म र इस्लाम धर्मका प्रवर्तकसमेतलाई अनादर र अपमानित गर्ने नियतले झुटा र भ्रामक तथा कपोकल्पित कुराहरु पोस्ट गरी धार्मिक र सामाजिक सद्भाव बिथोलेको आयोगको विज्ञप्तिमा उल्लेख छ । धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खल्बल्याउनेलाई कानूनी कारबाही गर्न पनि विज्ञप्तिमार्फत माग गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies