सुर्य प्रकाश बुढा मगर/मध्यान्ह
रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिकाले आधारभूत तह (कक्षा ८) को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार जम्मा परीक्षार्थीमध्ये करिब ८.०३ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका १७ विद्यालयका ४६९ जना विद्यार्थीमध्ये जम्मा ३८ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
कक्षा ५ र ८ को परीक्षा व्यवस्थित गर्न र सिकाइ गुणस्तर बनाउन प्रयास भइरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख बालाराम वलीले बताए । उनले भने, ‘हामीले परीक्षा व्यवस्थित गराउन र सिकाइ गुणस्तर बढाउन अलि मेहनत गरिरहेका थियौं । अर्को वर्षदेखि नतिजामा सुधार आउँछ भन्नेमा हामी विश्वस्त छौं ।’
गाउँपालिकाले दुई विषयसम्म एनजी ल्याउने विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको शाखा प्रमुख वलीले बताए । उनका अनुसार २२९ जना विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।
शुक्रबार परीक्षाको नतिजा सार्वजनिक गरेको गाउँपालिकाले ११ र १२ वैशाखमा हुने ग्रेडवृद्धि परीक्षाका लागि आवेदन फारम भर्न सूचित गरेको छ । साथै नतिजामा चित्त नबुझेको अवस्थामा पुनःचेक कपी हेर्न सकिने समेत गाउँपालिकाले जनाएको छ । परिवर्तन गाउँपालिकाले चैत ५ देखि १३ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
सरकारले गत वर्षदेखि विद्यालय तहमा लेटर ग्रेडिङ निर्देशिका,२०७८ लागू गरेको छ । निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिक ५० पूर्णाङ्क परीक्षामा १७.५ अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था छ । त्यस्तै कुनै विषयमा १७.५ प्रतिशतभन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा माथिल्लो कक्षा पढ्न पाउँदैनन्–वलीले भने।आधारभूत तह (कक्षा ८ र ५) लाई परिवर्तन गाउँपालिकास्तरीय समेत बनाइएको छ । आधारभूत तह (कक्षा ५)को भने परीक्षा नतिजा आउन बाँकी रहेको परिवर्तन गाउँपालिका शिक्षा शाखाले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies