नारायण अर्याल/मध्यान्ह
काठमाडौं : चालु आर्थिक वर्ष (आव) को मंसिर महिनाबाट केही सुधार देखिएको घरजग्गा कारोबार चैत महिनामा भने सुस्त बन्न पुगेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन महिनाको तुलनामा चैत महिनामा देशैभरीको घरजग्गाको कारोबारमा केही सुस्तता देखिएको हो । विभागका अनुसार चैत महिनामा ५० हजार दुई सय ५२ कित्ता जग्गा र १८ वटा अपार्टमेन्टको मात्रै लिखत पारित भएको छ । विभागको तथ्यांकअनुसार फागुन महिनामा ५० हजार नौ सय ९८ वटा जग्गा र २९ वटा अपार्टमेन्टको लिखत पारित भएको थियो ।
कारोबारमा भएको सुस्तता देखिए पनि चैत महिनामा सरकारले घरजग्गा कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकरको भने आम्दानीमा केही वृद्धि गरेको छ । विभागको तथ्यांकअनुसार सरकारले चैत महिनामा पुँजीगत लाभकरबापत एक अर्ब ४६ करोड ९१ लाख सात हजार एक सय ४२ रुपैयाँ आम्दानी गरेको छ । सरकारले यस्तो आम्दानी फागुन महिनामा एक अर्ब २८ करोड ५० लाख ५८ हजार एक सय ७७ रुपैयाँमा सीमित थियो ।
गत आवको तुलनामा बैंकिङ ब्याजदरमा कमि आएको र बैंकिङ प्रणालीमा पाँच खर्ब भन्दा धेरै लगानी योग्य तरलता रहेको अवस्थामा पनि घरजग्गा कारोबारमा सुधार आउन नसकेको देखिन्छ । साथै सरकारले चालु आवको पहिलो त्रैमासमा भू–उपयोग नियमावली संशोधनमार्फत् जग्गाको कित्ताकाटमा समेत सहजीकरण गरेको थियो ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमामा वृद्धि गरेर जोखिम भारमा समेत कटौती गर्दापनि घरजग्गाको कारोबारा सुधार हुन नसकेको विभागको तथ्यांकले देखाएको छ । अर्थतन्त्रको बाह्य पक्षमा सुधार देखिएपनि आन्तरिक अवस्था सुधारोन्मुख नभएको घरजग्गा कारोबारको तथ्यांकले पुनःपुष्टि गरेको छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सबै उपायहरुको अवलम्बन गर्ने बताईरहँदा घरजग्गा कारोबारले भने सरकारको तर्फबाट अर्थतन्त्र चलायमान बनाउन अझै धेरै काम गर्नुपर्ने देखाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies