सुर्य प्रसाद भुसाल/मध्यान्ह
सन्धिखर्क : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जाेखबहादुर महराले अर्घाखाँची जिल्ला प्रदेश राजधानीसँग जोडिएको जिल्ला भएकाले विकास निर्माणले फड्को मार्ने बताएका छन् । मुख्यमन्त्री महराले सन्धिखर्क गच्छे हुँदै प्रदेश राजधानी जोड्ने सडक निर्माण भइरहेकाले यो सडक सम्पन्न गर्नका लागि प्रदेश सरकारले कुनै कसुर बाँकी नराख्ने बताए । उनले विगतका सरकारले अघि बढाएका गाैरवका आयाेजनालाई वर्तमान सरकारले पूरा गर्नेसमेत प्रतिबद्धता जनाए ।
राजधानी निर्माणलगायत सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, खानेपानीलगायतका क्षेत्रमा थालिएका प्रदेश गाैरवका आयाेजनालाई निरन्तरता दिइने महराको भनाइ छ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ३ ठाडामा साेमबार भएको स्वागत कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री महराले प्रदेशका १२ जिल्लाकाे राजधानीमा सहज पहुँचका लागि सडक सञ्जालले जाेड्ने गरी काम भइरहेकाले गच्छे-भालुवाङ सडक महत्वपूर्ण सडकको रुपमा अगाडि बढाएर अर्को वर्ष सम्पन्न गरिने बताए । ‘लुम्बिनी प्रदेश सरकारले अघि बढाएका राम्रा र गाैरवका आयाेजनालाई पूर्णता दिन हामीले ध्यान दिन्छौं,’ उनले भने, ‘याेजना शुरु गर्ने तर पूरा नगर्ने प्रवृत्ति राेक्न चाहन्छौं ।’
यस्तै मन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कार्यसम्पादनलाई तीव्र पार्ने र जनतामा आशा जगाउने गरी काम गर्ने बताए । मन्त्री आचार्यले जनतामा छाएको निराशालाई आशामा परिणत गर्ने बताउँदै लुम्बिनीको विकासका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य बिजुला रायमाझी, शितगंगा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष चिन्तराज अधिकारी, शितगंगा नगरपषालिका वडा नं १२ का अध्यक्ष दुर्गा बिसी, नेकपा एमालेका नेता बसन्त कुमार श्रेष्ठ, ऋषि घिमिरेलगाएतका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies