काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संविधान निर्माण भइसकेपछि आवश्यक कानून निर्माणमा संघीय सांसदहरु गम्भीर हुनुपर्ने बताएका छन् । संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको लागि आज आयोजित राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुसँगको अन्तरक्रियामा उनले समयमै कानून निर्माण नगर्दा अन्योल र निराशाको अवस्था आउन दिन नहुने बताए ।
अध्यक्ष दाहालले आवश्यक ऐन कानून निर्माण गरेर संविधान कार्यान्वयनको कार्यभार पूरा गर्न सबै प्रतिबद्ध र इमान्दार हुनुपर्नेमा जोड दिए । “अहिले कानून निर्माणको आवश्यकता र यसको जुन गतिमा काम भइरहेको छ, यसले ठूलो अन्तरविरोध पैदा भएको छ”, अध्यक्ष दाहालले भने, “नयाँ संविधान निर्माण भइसकेपछि जुन गतिमा कानून निर्माण हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन, यसतर्फ कानून निर्माणको जिम्मेवारी लिएका सांसदहरु गम्भीर हुनु जरुरी छ ।”
नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रमले संसदीय अभ्यास र प्रक्रिया बुझ्न महत्वपूर्ण हुने भन्दै उनले सिक्ने काम कहिल्यै नसकिने भएकाले यस्ता कार्यक्रम सबैका लागि नियमित सञ्चालन गर्न आवश्यक रहेको बताए ।
कानून निर्माणका विभिन्न चरणबारे सिक्न, विधेयकमा छलफल, संशोधन र कानूनी कार्यमा पोख्त हुन बेला बेलामा यस्ता अन्तरक्रिया, गोष्ठी र छलफल हुनु जरुरी रहेको अध्यक्ष दाहालको भनाइ थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies