दिलमाया शाही/मध्यान्ह
जुम्ला : जुम्लाको सिंजा गाउँपालिकाले दुई वर्षे प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल र उपाध्यक्ष सितली रोकायाले पत्रकार सम्मेलन आयोजना गरेर आफ्नो करिब दुई वर्षे कार्यकालको प्रगति सार्वजनिक गरेका हुन् ।
सिँजा गाउँपालिकाले खसभाषामा नीति तथा बजेट बाचनको खस पात्रो निर्माण तथा प्रयोग गरेको छ । अध्यक्ष धितालका अनुसार गाउँपालिकास्तरीय हाटबजार सञ्चालन खस सभ्यता संरक्षणका कार्यक्रमहरु गरिएको छ । अध्यक्ष धितालले खस संस्कृतिसँग जोडिएको मष्टो परम्पराको प्रवर्द्धन गर्न यस वर्ष बृहत् केदारनाथ मेला सम्पन्न गरिएको बताए ।
प्रगति प्रतिवेदनमा पहिलो पटक सदरमुकाम बाहिर नराकोट इलाका प्रशासनबाटै राष्ट्रिय परिचय पत्र वितरण गरिएको अध्यक्ष धितालले जानकारी दिए । गाउँपालिकाले आफ्नै प्रशासकीय भवन सञ्चालनमा ल्याएको तथा दोस्रो तला निर्माण भइरहेको पनि उनले जानकारी दिए ।
सुशासनको पाटोमा प्रगति सार्वजनिक तथा सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत शुरुवात गरिएको उनले बताए । यसैगरी गाउँपालिकाको विकासका लागि विज्ञ समुह गठन गरी प्रस्ताव पेश गरिएको उनले बताए । अध्यक्ष धितालले आफ्नो प्रगति प्रतिवेदनमा सिंजा गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक स्थापना गरिएको पनि उल्लेख गरेका छन् ।
त्यस्तै ज्येष्ठ नागरिकहरुको स्वास्थ्यका लागि घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको, जिल्लाको स्वास्थ्य नतिजाअनुसार सिंजा गाउँपालिका स्वास्थ्य शाखा उत्कृष्ट शाखाको रुपमा जनस्वास्थ्य सेवा कार्यालयले घोषणा गरको, गाउँपालिकाले शिक्षा क्षेत्रमा विद्यालय सुधारका लागि विभिन्न प्रकारका क्रियाकलापहरु गरिरहेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै सिंजा क्षेत्रकै ३ वटा स्थानीय तह हिमा, कनकासुन्दरी र सिंजाका नागरिकलाई केन्द्रमा राखेर हाल इलाका प्रशासन कार्यालयले नागरिकता बितरण गरिरहेको अवस्थामा मालपोत र नापी कार्यालयको समेत पहल भइरहेको अध्यक्ष धितालले बताए । अध्यक्ष धितालले सिंजामा नापी र मालपोत कार्यालय राख्न विभिन्न १९ वटा चरण पार गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा प्रस्ताव पेश भएको जानकारी दिए । त्यस्तै सिंजा गाउँपालिकाको वडा नम्बर ६ मा बहुप्राविधिक शिक्षालय स्थापना गर्न नागरिकबाट जग्गा प्राप्त भइ प्रक्रिया अगाडि बढिरहेको उनले बताए ।
सिंजा गाउँपालिकाको सदरमुकाम जोड्ने गौरवको सडक छकालेपानीदेखी झिम्री कुनासम्मको सडक अगाडि बढाइएको र दुर्गम क्षेत्र वडा नम्बर ६ सम्म ८ मिटरको बाटो विस्तार गरिएको प्रगति विवरणमा उल्लेख गरिएको छ । गाउँपालिकाले आफ्नै खस संस्कृतिको संरक्षण्का लागि हरेक वर्ष असार ३० मा काफल दिवस, चैत १२ गते धान दिवस, वैशाख १ गते तागा दिवस, साउन १ गते खस दिवस र भदौ १० गते स्याउ दिवस मनाउने पात्रो सार्वजनिक गरेको छ ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष रोकायाले महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन तथा सम्मान कार्यक्रम, शाखामार्फत महिला बालबालिका र लक्षित वर्गका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् । उनले २०७९ सालको बाढी पहिरोले क्षति पुगेका घरधुरीको राहतका लागि पहल भइरहेको जानकारी दिइन् ।
कार्यक्रमम विभिन्न राजनैतिक दलहरुले सुझावसमेत राखेका थिए । नेकपा माओवादी केन्द्रले जुम्लामा आफूले नेतृत्व गरिरहेका पालिका र वडाका प्रगति सार्वजनिक गर्न निर्देशन दिएपछि गाउँपालिकाले प्रगति सार्वजनिक गरेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies