सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोग बहादुर महराले शैक्षिक क्षेत्रको विकास सोचेजस्तो हुन नसकेको बताएका छन् । मुख्यमन्त्री महराले अबको जमाना विद्यार्थीहरुलाई किताबका कुरा घोकाउने नभइ आधुनिक प्रविधिमार्फत अध्यापन गराउने रहेको बताए । उनले त्यस्तो वातावरण बनाउनका लागि सरकारले नयाँ योजना अगाडि सार्ने बताए ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ मा रहेको शान्ति माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री महराले नेपाली श्रमिकहरुको श्रमले देशभित्र मूल्य नपाउँदा धेरै जनशक्ति विदेशिएको बताउँदै अब विदेशी विधार्थी नेपालमा पढ्न आउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । महराले आफ्नो नेतृत्वमा बनेको वर्तमान सरकारले कुराभन्दा काम गरेर देखाउने बताए । उनले गाउँबाट शहर र विदेश पुगेको जनशक्ति गाउँमा फर्काउने वातावरण सरकाले बनाउने दाबी गरे ।
सोचेअनुसारको विकास नहुनुको मुख्य जड कामभन्दा कुरा बढी गर्ने प्रवृत्ति रहेको भन्दै महराले भने, ‘अहिलेको सरकारले कामबाटै लुम्बिनी प्रदेशका जनताको विश्वासलाई पूरा गरेर देखाउने छ ।' लुम्बिनी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने बताउँदै मुख्यमन्त्री महराले बिना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी तोक्ने तयारी भइरहेकोको बताए ।
कार्यक्रममा पूर्वमन्त्री सुशीला श्रीपालीले अर्घाखाँचीको विकासमा आफूले धेरै नयाँ योजनाहरु संघीय सरकारमार्फत जिल्लामा भित्र्याएको दाबी गरिन् । कार्यक्रममा संघीय सांसद बिजुला रायमाझीले सबै जिल्लावासी एकजुट भएर जिल्लाको विकासमा हातेमालो गर्नुपर्ने बताइन् । हिरक महोत्सवमा लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको विकास निर्माणमा सरकारको स्रोतसाधनले भ्याएसम्मका काम गरिने बताए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलगायत कार्यलय प्रमुखहरु, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेताहरु, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाललगायतको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ मान बहादुर पाण्डेले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies