दिलमाया शाही/मध्यान्ह
जुम्ला : चन्दननाथ नगरपालिका वडा नं. ५ मा रहेको एशिया इन्टरनेशनल मोडेल अंग्रेजी स्कुलले आधारभूत सूचना र प्रविधि (आईटी)को अध्ययन अध्यापन गराउँदै आएको छ । यस स्कुलले एक वर्षदेखि आईटी कक्षा सञ्चालन गर्दै आएको हो ।
विद्यालयका अनुसार आईटी पढाइ हुन थालेपछि यहाँ अध्ययनरत छात्रछात्राहरु उत्साहित भएका छन् । विद्यालयका सञ्चालक मनोज बुढाथोकी मगरले युगले मागेको जीवनउपयोगी सीप र क्षमताको विकासका लागि सूचना र प्रविधिसम्बन्धीको ज्ञान धेरै आवश्यक रहेको बताए । उनले भने, ‘स्कुलका एक कक्षादेखि ८ सम्मका विद्यार्थीहरूको कम्प्युटरसम्बन्धी सीप र ज्ञान हेर्दा कुनै विकसित र सेवासुविधा सम्पन्न क्षेत्रको स्कुलभन्दा कम देखिँदैन । जुम्ला भर्खरै विकासको क्षेत्रमा बामे सर्दैछ । यसले सूचना तथा प्रविधिको क्षेत्रमा बालबालिकाहरूलाई यसरी सीप र ज्ञान दिनु भनेको समग्र समाज विकासका लागि ठूलो टेवा पुर्याउनु हो ।’
सामान्यतया दैनिक जीवनमै कम्प्युटर शिक्षाबिना मानिसहरूले यो बदलिँदो समयअनुसार चुस्त र दुरूस्त सेवा सुविधा प्राप्त गर्न नसक्ने सञ्चालक बुढाथोकीले बताए । उनका अनुसार यस्तो सामाजिक चेतना र अवस्था रहेको बेला यसरी एक निजी विद्यालयले विद्यार्थीहरुलाई निःशुल्क कम्प्युटर आईटी शिक्षा र सीप दिनुलाई सामान्य मान्न सकिँदैन ।
उनले भने, ‘संसारका विकसित मुलुकहरुले उत्कृष्ट मानव मस्तिष्कहरुमा लगानी गरिरहेका छन् भने हाम्रो समाज यस्तो प्रकारको सोच र दुनियाँबाट अझै पर छ । स्कुलले सूचना तथा प्रविधि र आविष्कारको युगअनुसार काम गर्न र आफ्ना सपनालाई साकार पार्न पहल गरिरहेको छ ।’
चन्दनाथ नगरपालिका–२ जुम्ला भण्डारीबाडा गाउँ निवासी वरिष्ठ पत्रकार कर्णबहादुर भण्डारीले एशिया स्कुल जुम्लाले निर्माण गरेको आईटी ल्याब नमुना भएको बताए । उनले भने, ‘यतिसम्म सुविधा सम्पन्न र व्यवस्था भएको स्कुल अहिलेसम्म जुम्लामा छैन ।’ उनले यो पकारको सिकाइले यहाँका बालबालिकाहरु भविश्यमा विश्व बजारसम्म प्रतिस्पर्धा गर्न सक्ने सक्षम हुने दाबी गरे । उनले भने, ‘किताबी ज्ञान मात्र सवथोक होइन । जीवनमूखी शिक्षा र विद्या आवश्यक छ । यसले प्राविधिक विषयको आवश्यकतालाई समेत क्रमशः विकास गर्दै लैजाने देखिन्छ ।’
उक्त विद्यालयमा सात सय छात्रछात्रा अध्ययनरत रहेको प्रधानाध्यापक चन्द्रबहादुर महतले बताए । उनले कम्प्युटर शिक्षासम्बन्धी व्यवहारिक सिकाइले शैक्षिक गुणस्तरमा वृद्धि गर्ने भूमिका खेलेकै कारण बालबालिकाहरुको मनोबल वढदै गएको बताए । उनले यसको प्रयोगवाट नयाँ घटना, सूचनाहरु संकलन गर्न तथा महत्वपूर्ण कामहरु छिटोछरितोरुपमा सम्पन्न गर्न सहज भएको बताए ।
कम्प्युटर शिक्षाको पढाइले कम्प्युटरसम्बन्धी धेरै कुरा सिक्ने अवसर मिलेको विद्यार्थीहरु बताउँछन् । सामान्यतः सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयका विद्यार्थीहरु कम्प्युटर शिक्षामा अगाडि रहेको देखिन्छ । सरकारले सामुदायिक विद्यालयमा निःशुल्क कम्प्युटर शिक्षा पाठ्यक्रममा राखेपनि त्यो प्रभावकारी हुन सकेको छैन ।
अहिलेको समयमा प्रविधिमैत्री क्षमता भएको विद्यार्थी उत्पादन गर्न तल्लो तहबाट नै कम्प्युटर विषय समावेश गरिएको स्कुलले बताएको छ । स्कुलले सैद्धान्तिक र प्रयोगात्मक दुवै किसिमका कक्षा सञ्चालन गर्न स्तरीय ल्याब र दक्ष शिक्षकको प्रबन्ध गरेको छ । कम्प्युटर विषयमा सैद्धान्तिक बाहेक प्रयोगात्मक कक्षा पनि छ । त्यसले विद्यार्थीको सीप पनि विकास हुने र अध्ययनपछि कामको अवसर पनि मिल्ने स्कुलले बताएको छ ।
आधारभूत तहका कम्प्युटर सीप नसिकेका विद्यार्थीले माध्यमिक तहमा कम्प्युटर अध्ययनपछि सामान्य काम गर्न सक्ने कम्प्युटर शिक्षक बताउँछन् । विद्यार्थीले फोटोकपी गर्ने, सामान्य फोटोसपको काम गर्ने, टाइपिङ गर्ने जस्ता काम गर्न सक्छन् । आफ्नो मुख्य उद्देश्य काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्नेभन्दा पनि उनीहरुमा आधारभूत सीप विकास गर्नु रहेको स्कुलले बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies