ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लामा यात्रुको चापको मध्यनजर गर्दै नेपाल एयरलाइन्सले शुक्रबार दुई उडान भर्ने भएको छ । राष्ट्रिय सडक मार्ग नजोडिएको एक मात्र जिल्लाको सदरमुकाम सिमकोटका नागरिक जिल्ला बाहिर र जिल्लाभित्र आवतजावत गर्ने सवारी साधन हवाइ जहाज भएपनि निजी एयरलाइन्स सिजन अनुसार पर्यटनलाई लक्षित गरेर चल्ने भएकाले त्यसलाई मध्यनजर गरेर शुक्रबार सिमकोट विमानस्थलका लागि दुई उडान राखेको सिमकोट नेपाल एयरलाइन्स इन्चार्ज छिरिङ लामाले बताए ।
इन्चार्ज लामाका अनुसार हप्ताको तीन दिन आइतबार, सोमबार र मंगलबार उडान सेडुल भएपनि यो हप्ता जहाजमा टेक्निकल समस्या आउँदा उडान भएन । उडान नभएपछि जिल्लामा यात्रुको चाप बढेको गुनासो आएर एक दिनमै नेपालगन्जदेखि सिमकोटको लागि दुई उडान राखिएको हो ।
नेपालगन्जदेखि सिमकोट यात्रा गर्ने नागरिकको संख्या पनि उत्तिकै भिड छ । हवाइ सेवा नियमित उडान नहुँदा यात्रु मात्र नभएर जिल्ला स्वास्थ्य सेवा कार्यलयबाट रिफर गरिएका बिरामी पनि रोकिनु परेको छ । चार दिनदेखि रिफर गरेका अमराज रावलले भने, ‘हवाइ सेवा सुचारु हुँदैन । भएपनि यात्रुको चापले गर्दा टिकट पाइँदैन ।’ चारदिन देखि सिमकोटमै बस्दा उपचार गर्ने पैसा होटलमा तिर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
उनी मात्र नभए यस्ता बिरामी हवाइ सेवा सुचारु नहँुदा यात्रु र बिरामी बढ्दै जाने सम्भावना छ । त्यस्तै विकास निर्माणका सामग्री, दैनिक उपभोग्य बस्तु पनि बजारमा अभाव भएको देखिन्छ । नेपाल एयरलाइन्सले शुक्रबार दुई उडान गर्दा केही राहत हुने देखिएको छ । सिमकोट विमानस्थलका लागि सीता,तारा,र समिट एयरलाइन्सले उडान भर्दै आएका छन् । सिता, तारा काठमाडौं केन्द्रित भएका छन् भने समिट हवाइ एयरलाइन्समा एक हप्तादेखि टेक्निकल समस्या देखिएको छ, अझै बनेको छैन । नेपाल एयरलाइन्सले यात्रुको चाप निजी एयरलाइन्सले उडान नभर्दा अब आउने हप्ताबाट सिमकोट विमानस्थलको लागि चार उडान गर्ने निर्णय गरिने सिमकोट नेपाल एयरलाइन्स स्रोतले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies