–राजन तिमिल्सिना
धार्मिक अन्धविश्वासको पर्दाले मानव चेतनालाई बन्ध्याकरण गर्दछ । मिथ्या तर्कको साहाराद्वारा जीवन र जगतका आम नियमहरुमाथि धावा बोल्नु यसको मूल विशेषता हो । जन्म–पुर्नजन्म, पाप–धर्म, स्वर्ग–नर्क, छुत–अछुत, आत्मा–परआत्मा जस्ता काल्पनिक तर्कको सहारा लिई वैज्ञानिक प्रगतिलाई नकार्दछ । अन्धविश्वास र रुढीवादको जगमा उभिई मानव जातिलाई परनिर्भर, मगन्ते, ढोँगी, पाखण्डी र दास बनाउने कार्यका साथै जंगली युगतर्फ डोहोर्याउनु यसको मुख्य ध्येय हुन्छ ।
मूलतः धर्मको पक्षपोषण गर्नु भनेको सामन्तवाद र पुँजीवादको सेवा गर्नु हो । साथै, अलौकिक, मिथ्या, काल्पनिक र मनगणन्ते तर्कको साहारा लिँदै प्रगतिपथलाई निषेध गर्नु हो । उँचोे–निचो, सानो–ठूलो, छूत–अछूत, धनी–गरीब, भाग्यमानी–अभागी जस्ता भेदभावपूर्ण कुराको आडभरोसा लिई आज्ञापालक दासहरु जन्माउनु यसको प्रमुख लक्ष्य हो । यसले मानिस–मानिसबीचमा ठूलो विभेद खडा गर्दै मानिस भन्दा कुकुरलाई पवित्र मानी घरभित्र र मानिसलाई घर बाहिर राख्न बाध्य पार्दछ । साथै, कुनै ढुंगालाई देवता मान्दछ भने कुनै ढुंगालाई चर्पी मान्दछ । धर्मले दुःख पाउनु पूर्व जन्मको पाप भएकोले यो जन्ममा यज्ञ, तपस्या, हवन, दान दक्षिणा गरे मरेपछि सबैचिज पाइन्छ भन्ने खोक्रो आश्वासन बाँड्दछ । बाँचुन्जेल नारकीय जीवन विताउनु पर्ने र मरेपछि राजा महाराजा हुने सपना बाढ्नु ठूलो ठगीधन्दा हो ।
धर्मले नयाँ खोज अनुसन्धानलाई निषेध गर्दै पुरानै मिथकको आधारमा पुरानै कथा दोहो¥याएर नयाँ चीजको आविस्कारको ढोका बन्द गर्छ । आदिम समाजको कपोलकल्पित एवं काल्पनिक मिथकको आधारमा भौतिक जगत, मानव समाज र विज्ञानका वस्तुगत नियम नबुझी केवल धर्मको मात्रै आडभरोसा लिनु अज्ञानताको पराकाष्ठा हो । दान दक्षिणा गरेर ईश्वर पाउने होइन, पुजारी र भ्रष्टाचारी मोटाउँछन् । श्रम र उद्यमशीलता गर्नु भन्दा धर्मको नाममा ठगी खाने सबैभन्दा सजिलो व्यवसाय नै धर्म बनेको छ ।
धर्मशास्त्रले भनेजस्तो हुने भए विश्वमै नभएकी लक्ष्मी नेपाल÷भारतमा छिन्, किन यहाँका मानिसहरु सबैभन्दा बढी कंगाल छन् ? जहाँ लक्ष्मी नै छैनन् ती देश विश्वकै सबभन्दा धेरै किन सम्पन्न छन ? पशुपतिनाथ, स्वयम्भू, कृष्णमन्दिर, बंगलामुखी, बागेश्वरी, दक्षिणकाली, रामजानकी, चर्च, गुम्बा, स्तुपा, मस्जिद, गिर्जाघरहरु लाखौंको संख्यामा छन्, तर, देश र जनता विश्वकै गरिब छन् । यदि उनीहरुले दाबी गरेजस्तै भगवानको प्रार्थना वा मूर्ति पूजेर धर्म प्राप्त हुने र मनोकांक्षा पूरा हुने कोही पनि दुःखि गरिब हुने थिएनन् । धर्म केवल आस्था र विश्वास मात्रै हो, सत्य होइन ।
पृथ्वी र मानव जातिकै श्रृष्टी गरेको दाबी गर्ने ईश्वरले रेडियो, घडी, क्यामरा, कम्प्युटर, मोबाइल, फोन, मेशिन, ईन्टरनेट, यातायातका साधन, जहाज, रकेट, उच्चस्तरीय यान लगायतको किन श्रृष्टी गर्न नसकेको ? मानिसको अशिक्षा, अज्ञानता, डर र त्रासले पैदा गरेको ईश्वर मानिस भन्दा कदापि ठूलो हुन सक्दैन । यदि उनीहरुले दाबी गरे जस्तो भैदिएको भए धर्मै पिच्छे धेरै वटा पृथ्वी हुने थिए र मानव जातिलाई सहज हुने थियो । यदि विज्ञानले कुटो कोदालो, ढिकी, जातो, मेशिनदेखि विभिन्न उच्चस्तरीय यन्त्रको विकास नगरेको भए मानव जीवन अत्यन्तै कष्टकर र अन्धकारमय हुने थियो । समाजलाई अन्धकारमा राखेर जनतामाथि नारकीय राज गर्न नै सामन्तवाद र पुँजीवादले धर्मको विकास, पक्षपोषण र संरक्षण गर्दै आएको छ ।
विश्वमा विभिन्न धर्महरु छन् – हिन्दु, बौद्ध, इस्लाम, इसाई, शिख, कन्फुसीयस, फारसी, यहुदी, शिन्तो, टाओ, जैन, रास्ताफासीयन, बहाई आदि । यी धर्मका व्याख्याताका रुपमा पुरोहित, पण्डित, पादरी, लामा, भिक्षु, पोप, मुल्लाह, चिफ राबी, आयतोल्लाह, गुरु, सत्गुरु, आदीले आ–आफ्नै तर्क गर्दछन् । जुन भौतिक जगत, मानव समाज र विज्ञानका वस्तुगत मान्यता विपरीत छन् । यदि स्वर्ग र नर्क जाने टिकट यिनीहरुसँग भैदिएको भए सर्वप्रथम अरुलाई होइन उनीहरु आफैँ स्वर्ग जाने थिए । यिनीहरुले न स्वर्गको जनसंख्या भन्न सक्छन् न नर्ककै जनसंख्या भन्न सक्छन् । न जीवन र जगतका वस्तुगत नियमहरुको निरुपण गर्न नै सक्छन् । सबै धर्मका व्याख्याताहरु अन्धविश्वास र रुढीवादले ग्रसित छन् ।
त्यस्तै, वैज्ञानिक सोचाइ, भौतिकवादी दर्शन, द्वन्द्ववादी प्रणाली र सर्वहारावादी दृष्टिकोण हुनेहरु मात्रै सच्चा कम्युनिस्ट हुन् । आध्यात्मिक र अन्धविश्वासी मानसिकता बोक्नेहरु कोही पनि कम्युनिस्ट हुन सक्दैन । वैज्ञानिक सोच, भौतिकवादी दर्शन, द्वन्द्ववादी प्रणाली र सर्वहारावादी दृष्टिकोण नभई कम्युनिस्ट हुँ भन्नु रुपान्तरण नभएका पशुपतिका बाँदर जस्तै हो । कुनै पनि धार्मिक र आध्यात्मिक कार्यमा भाग लिनु कम्युनिस्ट नैतिकता बाहिरको कुरा हो । रुढीबादको पर्खाल नभत्काई सभ्य र सिर्जनशील समाजको निर्माण गर्न सकिँदैन । मूलतः सभ्य नागरिक बन्नका लागि भौतिक जगत, मानव समाज र वैज्ञानिक चेतना अनिवार्य सर्त हुन् । यसबारे सही र गलतको उचित सल्यक्रिया गर्न नसक्ने कोही पनि कम्युनिस्ट हुन सक्दैन ।
धर्मले मानिसलाई अन्धभक्त, पाखण्डी, गुलाम, निरीह, परजीवी र पराश्रृत बनाउँछ । यसले विद्यालय, स्वास्थ केन्द्र, उद्योग बनाउनुको साटो मन्दिर, चर्च, मस्जिद, गुम्बा, गिर्जाघर बनाउन प्रोत्साहन गर्छ , जसको कारण मानिसलाई मूर्ख बनाउन सकियोस् । मानव सभ्यताको हजारौं वर्षदेखि परमेश्वर, ईश्वर भगवान, देवता भनेर खोजी कार्य जारी छ तर, हालसम्म कसैले पत्ता लगाउन सकेको छैन । पण्डित, पादरी, लामा, गुरुदेव, पोप, मुल्लाहले ज–जे भन्यो अन्धभक्तहरु त्यतै दैडिरहेका छन् । धर्मले कुनै पनि प्रश्नहरुको उत्तर दिन सक्दैन भने विज्ञानले प्रश्नको उत्तरसहित त्यसको समाधानसमेत दिन्छ ।
भौतिकवाद र विज्ञानको विरोध गर्नेहरुले क्यामरा, मोबाइल, नेट, कम्प्युटर, रेडियो, घडी, चस्मा किन प्रयोग गर्नु ? बिरामी हुदा धामी–झाँक्री, चर्च, मस्जिद र गुम्बामा जानु पर्ने हो । धार्मिक पाखण्डीहरुले हस्पिटल गएर औषधी प्रयोग गर्नु र मानव अंग प्रत्यारोपण गर्नु धर्म विरुद्धको काम होइन र ? उनीहरु आफ्ना छोराछोरीलाई गुरुकुल, मदरसा, चर्च, बौद्धविहार आदिमा नपढाएर किन आधुनिक स्कूूलमा पढाइरहेका छन् ? यदि धर्म ठूलो हो भने स्कूल नपठाउनु पर्ने हो । जबसम्म शिक्षाको राम्रो विकास हुँदैन, तबसम्म धर्मसत्ताले राज गरिरहने छ ।
करिब २५ सय वर्ष अघि जन्मेका दार्शनिक ‘लुसियस अन्नस सेनेका’ ले भनेका थिए – ‘धर्मलाई सामान्य मानिसले पत्याउँछ, शिक्षित र चेतना विकास भएको मानिसले बहिस्कार गर्छ, राजनीतिज्ञले उपयोग गर्छ ।’ गौतम बुद्धका समकक्षी इटालीयान दार्शनिक ‘जुलियस अन्नस सेनेका’ को यो भनाई अहिले पनि त्यतिकै सान्दर्भिक र मनन्योग्य छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies