सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने बताएका छन् । शनिबार अर्घाखाँचीको मालारानी-५ गुरासे आएका पूर्वप्रधानमन्त्री भट्टराईले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वर्तमान सरकार असफलताउन्मुख रहेको बताउँदै राजनीतिक दलहरु स्वार्थ र फाइदाका पछाडि हिँड्ने प्रवृत्तिले गर्दा मुलुकमा भ्रष्टाचार दिन प्रतिदिन मौलाएको टिप्पणी गरे । उनले वर्तमान सरकारसँग भ्रष्टाचारीलाई जेल हाल्ने तागत नभएको समेत बताए ।
उनले बाह्य लगानी घटेको, व्यापार घाटा बढेको, विकास खर्चसमेत लक्ष्यअनुसार नभएको उल्लेख गर्दै सरकार असफल भएको र वर्तमान सत्ता गठबन्धन पनि धेरै दिन टिक्न नसक्ने बताए । उनले सरकारले भ्रष्टाचारीलाई कारबाही गर्नेभन्दा पनि आफ्ना नेताहरुलाई जोगाउने र अरुसँग प्रतिषोध साध्ने गरेको बताए । उनले ठूला दलहरु मिलेर सरकार बनाए मात्रै मुलुकले स्थिर सरकार पाउने बताए ।
भट्टराईले राजनीतिक दलहरु फाइदाका पछाडि लाग्ने भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेका कारण जनतामा निराशा छाएको दाबी गर्दै १४ महिने कार्यकालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनता सन्तुष्ट हुने काम गर्न नसकेको र असन्तुष्टि मात्रै पैदा भएको दाबी गरे । भट्टराईले भने, 'राजस्वको लक्ष्य पनि पूरा हुन सकेन, व्यापार घाटा बढेर गयो, लगानी घट्यो भनेर प्रधानमन्त्री स्वयं आफैंले भनिरहेका छन् । सबै हिसाबले सरकार असफलतातिर उन्मुख भइरहेको छ । यो सरकार टिकाउ हुन सक्दैन ।'
जनताको अपेक्षाअनुसार तीव्रताका साथ मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सरकारले आवश्यक कदम चाल्न नसकेको र सरकार पूर्णरुपमा असफल भएको उनको भनाइ थियो ।
भट्टराईले सबै नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताउँदै पूर्वप्रधानमन्त्रीको हैसियतले आफूबाट छानबिन शुरु गर्न आग्रह गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies