सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट उत्तरतर्फ करिब १० किलोमिटर यात्रा गरेपछि अग्लो पहाडी थुम्कोमा पुगिन्छ । थुम्को भने ढुंगै ढुंगाले भरिएको छ । फलामजस्तै काला ढुंगाको चट्टानले ढाकिएको जाल काँडा लेक 'ढुंगे जंगल' अहिले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने ‘ढुंगे बगैंचा’ अर्थात ‘रक गार्डेन’को रूपमा विकास हुँदै गएको छ । सन्धिखर्क नगरपालिका–११ स्थित जाल काँडा अहिले रक गार्डेन नामले चिनिन थालेको छ ।
पहाडी भूमिमा अनेक आकृतिका काला ढुंगा फलामका मूर्ति बिछाएजस्तै देखिन्छन् । काला फलामे ढुंगाको संरक्षण गर्दै सन्धिखर्क नगरपालिका र वडा नम्बर ११ ले रक गार्डेन बनाएर पर्यटकीय स्थलको रूपमा विकास गर्दै आएको छ । चिसो वातावरण र छिटो-छिटो परिवर्तन हुने मौसमका कारण ढुंगे बगैंचामा जाने मानिसहरू आनन्दित हुने गरेका छन् ।
कलात्मकरूपमा मानिसहरूले आफैं सजाएर र योजनाअनुसार बनाएर राखेको जस्तो देखिने ती चट्टानले जो कोहीको मन प्रफुल्लित बनाउँछ । सयौं रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थानलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न र प्रचारप्रसार गर्न सन्धिखर्क नगरपालिकाले गुरुयोजना बनाएर अगाडि बढेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।
चट्टानले ढाकिएको डाँडोलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने काम भइरहेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । नगरपालिकाको पूर्ववर्ती राजनीतिक नेतृत्वले रक गार्डेन बनाउने काम अघि बढाएको थियो भने हालको नेतृत्वले त्यसलाई निरन्तरता दिएको उनको तर्क छ ।
प्राकृतिक रूपले आकर्षक, रमणीय स्थल रक गार्डेनमा सदरमुकामबाट पक्की सडक पुगेकाले अहिले आन्तरिक तथा बाह्य पर्यटकहरुको वृद्धि भएको नगरप्रमुख श्रेष्ठले बताए । उक्त स्थानलाई स्थानीय सरकारको योजनाअनुसार पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले समेत पूर्वाधार विकासमा सहयोग गर्दै आएको श्रेष्ठको भनाइ छ ।
यस ठाउँको प्रवर्द्धनका लागि तीनै तहका सरकारले चासो दिनुपर्ने स्थानीय नारायण आचर्यले बताए । ‘रक गार्डेनका रूपमा विकास हुँदै गएपछि आन्तरिक र बाह्य पर्यटकहरू आउन थालेका छन्,’ स्थानीय अर्जुन खनाल भन्छन्, ‘काला ढुंगाले भरिएको डाँडो व्यवस्थित गर्न सके पर्यटकको कमी हुँदैन भन्ने प्रष्ट भएको छ ।’
रक गार्डेनबाट उत्तरतर्फ विभिन्न हिमशिखरहरू अवलोकन गर्न सकिन्छ भने दक्षिणतर्फ तराईको समथर भूभागसँगै लुम्बिनी प्रदेशका केही जिल्ला देखिन्छ । प्रकृतिको बरदान ढुंगै-ढुंगाको डाँडालाई प्राकृतिकरूपमै सजाएर लाभ लिन सकिने स्थानीय रामसिंह खनालले बताए ।
ढुंगाभित्रै बोटबिरुवा, फूल, देवीदेवता जस्ता आकृति अनुभव गर्न सकिन्छ । प्रकृतिले आफैं निर्माण गरेको यस क्षेत्र साँच्चिकै अचम्मको रहेको छ । गर्मी मौसममा चिसो हावा चल्ने र जाडोमा घाम लाग्ने भएकोले यहाँको वातावरण पर्यटकका लागि वर्षभरि नै अनुकूल मानिन्छ । जिल्लाको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने यो स्थानमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । विभिन्न बिदा तथा धार्मिक पर्व, उत्सवहरूमा पर्यटकहरु रक गार्डेन आउने क्रम बढेको स्थानीयहरुको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies