काठमाडौं : कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताहरुलाई मुनाफा वितरण गरेको छ । कोष सञ्चालक समितिको गत मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण स्वीकृत गर्दै मुनाफा वितरण गर्ने निर्णय गरेको हो ।
कोषले सञ्चयकोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्तालाई आर्थिक वर्ष २०७९/८० को व्यक्तिगत खातामा रहेको शुरु मौज्दात रकममा १.१० प्रतिशतका दरले हुन आउने रकम मुनाफाको रुपमा वितरण गरेको हो । निर्णय भएसँगै सञ्चयकोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्ताको खातामा उक्त रकम जम्मा गरिएको कोषले जनाएको छ ।
कोषले आथिक वर्ष २०७९/८० मा सञ्चयकर्तालाई कोष रकमको धितोमा प्रवाह भएको विशेष सापटीमा लगाउने ब्याज र कोष रकममा प्रदान गर्ने व्याजदरमा १.१० प्रतिशतको फरक रहेकोमा यस मुनाफा विवरण पश्चात सञ्चयकर्तालाई थप व्याजको भार नपर्ने अवस्था हुन गएको छ । आ व २०८०/८१ का लागि कोषमा रहेको रकममा ७.५ प्रतिशतका दरले ब्याज समेत प्रदान भइरहेको छ ।
कोषको यो निर्णयसँगै सञ्चयकर्ताले आ.व.२०८०/८१ को शुरु मौज्दातमा ८.६ प्रतिशतको दरले व्याज प्राप्त गरेका छन । कोषमा आर्थिक वर्ष २०७९/८० को शुरु मौज्दात ४,१६३६ करोड रहेकोमा उक्त रकमको आधारमा मुनाफा रकम वितरण भएसँगै रु.४५८ करोड बराबरको रकम कार्यरत तथा पूर्व सञ्चयकर्ताको करिब ८ लाख ६० हजार खातामा जम्मा गरिएको छ ।
कोषले आफ्नै स्रोतबाट स्वास्थ्य उपचार सुबिधा, काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदान लगायतका सामाजिक सुरक्षा सुविधाहरु प्रदान गर्दै आएको छ । कोषले प्रत्येक वर्षको मुनाफाको रकम सञ्चयकर्ताको लागि खडा गरिएका कोषमा जम्मा गरी यस प्रकारका योजना सञ्चालन गर्दै आएको छ ।
सामाजिक सुरक्षा योजना सञ्चालनको लागि यस वर्ष मुनाफाको १२ प्रतिशतले हुने रकम रु. ७२ करोड २० लाख छुट्याइएको छ । कोषले आफ्ना सदस्यहरुको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल कर्जा, जग्गा खरिद सापटी जस्ता सापटी सुविधाहरु समेत कोषबाट उपलव्ध हुँदै आएको छ । सञ्चयकर्ताको सञ्चित रकममा चक्रबृद्धि ब्याज तथा हरेक वर्ष मुनाफा प्रदान गर्ने गरिएको छ । कोषले आफुसँग भएको वित्तिय श्रोतलाई सञ्चयकर्ताको हितमा अधिकतम प्रयोग गरिरहेको छ ।
कोषले ११ वटा विभाग तथा ७ वटै प्रदेशमा रहेका ८ वटा शाखा कार्यालय र ३ वटा सेवा केन्द्रहरुमार्फत सेवा प्रवाह गरिरहेको छ । वि.सं. २०१९ मा स्थापना भएको कोषमा हाल करिब ५ सय १२ अर्बभन्दा बढीको वित्तिय स्रोत विभिन्न क्षेत्रमा परिचालन गरी व्यवस्थापन गरिरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies