मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : चालु आर्थिक वर्ष पहिलो ९ महिनामा ११ खर्ब ६७ अर्ब ६९ करोड रूपैयाँ बराबरको मालबस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ दशमलव ८४ प्रतिशतले आयात घटेको छ । गत आर्थिक वर्षको ९ महिनाको अवधिमा १२ खर्ब १ अर्ब ५० करोड रूपैयाँ बराबरको बस्तु विभिन्न देशबाट आयोत भएको थियो ।
तथ्यांकअनुसार हरेक महिना औसतमा सवा खर्बभन्दा बढीको आयात भएको देखिन्छ । समीक्षा अवधिमा भएको निर्यातको हिस्सा भने एकदमै कम छ । तथ्यांअनुसार सो अवधिमा १ खर्ब १३ अर्ब ९४ करोड रूपैयाँ बराबरबे मात्रै निर्यात भएको छ ।
यो तथ्यांकले सो अवधिमा १० खर्ब ५३ अर्ब ४२ करोड रूपैयाँ ब्यापार घाटा भएको छ । नेपालले सबैभन्दा बढी ब्यापार घाटा भएको देश भारत रहेको छ । तथ्यांकअनुसार भारतसँग मात्रै नेपालको ६ खर्ब ५१ अर्ब ८० करोड घाटा भएको तथ्यांक छ । त्यसपछि चीनसँगको ब्यापार घाटा २ खर्ब १४ अर्ब ६५ करोड, युनाइटेड अरब इमिरेट्ससँग १८ अर्ब ५२ करोड, युक्रेनसँगः १४ अर्ब ९० करोड रुपैयाँ, मलेसियासँग १४ अर्ब १६ करोड १० लाख रुपैयाँ घाटा ब्यहोर्नुपरेको छ ।
नेपालले सबैभन्दा बढी आयात गर्ने बस्तु पेट्रोे तेल हो । भन्सारबिन्दुको हिसाबले भारतसँग मात्रै आयात भएको बस्तु पेट्रोलियम पदार्थ साढे २ खर्ब बराबरको आयात भएको छ ।
भन्सारविन्दु निर्भर राजस्व
पछिल्ला तथ्यांहरूले नेपालको राजस्व प्रणाली भन्सार बिन्दुमा उच्च निर्भर रहेको देखिन्छ । चालू आर्थिक वर्षको ९ महिनामा मात्रै ३ खर्ब ६ अर्ब ८० करोड १७ लाख ९५ हजार रुपैयाँ भन्सार विन्दुबाट संकलन भएको छ । यो तथ्यांक अहिलेसम्म संकलन भएको राजस्वको ४१ प्रतिशत हुन आउँछ ।
पछिल्ला वर्षको तथ्याक हेर्दा नेपालको राजस्वमा जति बढी आयात भयो त्यति नै बढी राजस्व संकलन हुने गरेको छ । अर्थात् नेपाली निर्यातमा भन्सार छुट भएकाले आयातमा मात्रै राजस्व उठ्ने गर्छ । गत आर्थिक वर्ष २०७९/०८० मा भन्सार बिन्दूबाट ३ खर्ब ७७ अर्ब २७ करोड ४ लाख रूपैयाँ राजस्व भन्सार बिन्दुबाट नै संकलन भएको थियो । सो वर्षभरी सरकारले संकलन गरेको राजस्वमा भन्सार बिन्दुबाट संकलित राजस्वको हिस्सा मात्रै ४० प्रतिशत थियो ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९मा पनि भन्सारबिन्दूबाट संकलन भएको राजस्व हिस्सा ४५ प्रतिशत थियो । सो आर्थिक वर्षमा भन्सारबिन्दुबाट ४ खर्ब ८२ अर्ब ४३ करोड रूपैयाँ राजस्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०७७/०७८ भर भन्सार केन्द्रबाट संकलन गरिएको राजस्व ४ खर्ब २० अर्ब ९७ करोड थियो । उक्त राजस्व कुल राजस्वको करिब ५० प्रतिशत थियो ।
यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा कुल राजस्वको ३५ प्रतिशत हिस्सा भन्सार राजस्वले ओटेको थियो । सो आर्थिक वर्षमा भन्सार राजस्वबाट २ खर्ब ९८ अर्ब रुपैयाँ संकलन भएको थियो ।
आर्थिक वर्ष २०७५/७६ मा पनि सरकारले कुल राजस्वबाट ४२ प्रतिशत हिस्सा भन्सार बिन्दुबाट संकलन गरेको छ । सो आर्थिक वर्षमा भन्सार बिन्दुबाट ३ खर्ब ५४ अर्ब राजस्व संकलन भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies